Monday, January 11, 2016

मुक्तक : सपनाहरुको

मलामी गएर आए देखी सपनाहरुको ।
बन्धनमा छु म आÏनै चाहनाहरुको ।
खै यो मन उस्तो हो की समय नै त्यस्तो,
साथ साथ छु यस्तै यस्तै बाहनाहरुको ।।


© सौगात श्रेष्ठ
- बबई नगरपालिका, बर्दिया ।

मुक्तक : आश हुनेछ ।

हरेक पलमा मलाई तिम्रो आश हुनेछ ।
तिमी संगको यो सम्बन्ध खास हुनेछ ।
मलाई तिम्रो यादहरुले जहा“ पु¥याए पनी,
मेरो मनमा तिम्रै यादको बास हुनेछ ।।

© सौगात श्रेष्ठ
- बबई नगरपालिका, बर्दिया ।

Saturday, January 9, 2016

मुक्तक : सम्झना को आधी हुरी बाट

बलराम उपाध्याय
भत्किन्छ बार बार किन यो मन सम्झना को आधी हुरी बाट।
भन कसरी टाढा बनाउ तिमिलाइ यो मन को दुरि बाट ।
यहाँ अचेल यसरी कैदी भएर बस्नु परेको छ ,
दोषी ठहरिए पछि अदालतमा तिम्रो उजुरी बाट ।


© बलराम उपाध्याय
शिबपुर-९, बर्दिया

विचारशिल गजलहरुको एउटा उत्कृष्ठ संग्रह

Thursday, January 7, 2016

गजल कसरी लेख्ने ?

- कृष्ण प्यासी

गजल लेखन कार्य अरबी, फारसी, उर्दु, हुदै हिन्दी अनि नेपालीमा लेख्न थालिएको हो। जुन देशमा उर्दु, फारसी बोलिन्छ त्यहाँ बढी गजलको माहोल छ। हुदै-हुदै यो लेखन पूर्व तिर पनि लेखिन थालियो। हिन्दीमा धेरैले लेख्न थाले। अनि नेपालमा पनि यो देखिन थालियो। बिषेशत:  नेपालमा विक्रम सम्बत १९४० बाट गज़ल लेख्न थालिएको कुरा छ। जे भए पनि एउटा नौलो ज्ञान छाडेर गएका छन् पुर्खाहरुले। यो गजलका बारेमा लेख्न थाल्दा धेरै लामो लेख हुन्छ, त्यसैले म बिषय तर्फ लाग्छु जसले गर्दा तपाई गजल लेख्न सिक्नु हुनेछ। सर्बप्रथम–
  •  गजल के हो?
– यहाँ गजलको आक्षरिक अर्थ दिंदा
“ग”+”ज”+”अल”= “गजल” भएको हुन्छ.
ग=को अर्थ (स्त्री वा नारी)
ज=को अर्थ (वार्ता वा वाणी)
अल=को अर्थ (साथ वा संग)  भन्ने हुन्छ।
अतः समग्रमा “गजल”को शाब्दिक अर्थ “नारी संग गरिने वार्तालाप वा कुराकानी नै गजल हो।” अथवा “प्रेमिका संगको प्रणयता वार्ता” भन्ने पनि बुझिन्छ।
म गजलका तत्वहरुको बारेमा जानकारी दिन लागी रहेकोछु.गजल लेख्दा के के कुराहरुमा ध्यान दिनु पर्छ? काँहा? कसरी? प्रयोग र अनुप्रयोग गर्नु पर्छ? भन्ने बारेमा लेख्दैछु। यो तलको गजल पढ्नुहोस्-
गजल
हिजो-आज ठुले संग, सल्क्या छौ रे भन्ने सुन्छु
उसै संग दिन-रात, पल्क्या छौ रे भन्ने सुन्छु।
मन रैछ उस्को लागी, किन झुटो प्रेम गर्यौ?
रातै भरि उस्को निम्ति, टल्क्या छौ रे भन्ने सुन्छु।
मन मुटु गांस्या थिंए, धोका दियौ आज तिम्ले,
मलाई बिर्सी उसै सित, छ्ल्क्या छौ रे भन्ने सुन्छु।
किन यस्तो भयो सानु, चटक्क नै माया मार्यौ,
सबै त्यागी उतै तिर, ढल्क्या छौ रे भन्ने सुन्छु।
यस्तै रै’छ साँचो प्रेम, माईमा गई कसम खा’को,
राम्रो छैन प्यासी भन्दै, झल्क्या छौ रे भन्ने सुन्छु।
                                                                                  -कृष्ण प्यासी
         यहाँ माथिको गजल पढी सकेपछी बुझ्नु पर्ने कुरा के के हुन् त? भने हामीले सिधै हेर्दा १० हरफहरु छन्। ति १० हरफलाई गजलको भाषामा “मिसरा” वा “मिस्रा” भनिन्छ. अत: यहाँ १० मिसरा वा मिश्रा छन्। माथिको गजलमा रहेका २ मिसराहरुलाई “सेर”  भनिन्छन।अथवा २ वटा मिसराको संयोजनबाट एउटा सेरको निर्माण हुन्छ। त्यसैले यहाँ पुरा ५ सेरहरु छन्, भन्दा फरक नपर्ला। त्यस्तै  माथिकै गजलमा प्रथम सेरको प्रथम मिसरालाई “मिसरा ए-उला” भनिन्छ र  दोस्रो सेरलाई “मिसरा ए-सानी” भनिन्छ। माथिको गजलको पहिलो सेरलाई “मतला”भनिन्छ। गजलमा मुख्य २ तत्व हुन्छन। ति हुन् “रदिफ” र “काफिया”। माथि एक पटक गजलमा नजर घुमाउनु होस् त रातो मसीले लेखिएको जुन शब्द हरु क्रमश:सल्क्यापल्क्याटल्क्याछल्क्याढल्क्याझल्क्या, छन् ति सबै “काफिया” हुन्। त्यस्तै गरेर निलो मसिले लेखिएको छौ रे भन्ने सुन्छु। चाँही “रदिफ” हो। यहाँ बुझ्नु पर्ने कुरा जहिले पनि “काफिया” रदिफ भन्दा पूर्ववर्ती हुन्छ। काफिया पछी आउने रदिफ हो।
              
बिषेशत: काफिया २ प्रकारका हुन्छन। ति हुन् –
१. पूर्ण काफिया र
२. आंशिक काफिया ।
 यहाँ पूर्ण काफिया को बनावट यस्तो हुन्छ- गर्छु,  मर्छु,  तर्छु,  झर्छु। भने
आंशिक काफियाको बनावट यस्तो हुन्छ- गरेर, भनेर जलेर इत्यादि…
अन्य काफिया पनि प्रचलितमा छन् ति हुन्-
क. एकाक्षरिय, र
ख.हम-काफिया
क.
यहाँ एकाक्षरिय काफिया भन्नाले आंशिक काफिया जस्तै-जस्तै नै हो। जस्तै:- भुलेर, खाएर,पिएर,तरेर लुकेर इत्यादि…..
ख. हम-काफिया भन्नाले जबर्जस्ति बनाइएको हुन्छ। तर रेडियोमा गाइएको गजल सुन्नु भएकोछ भने यो काफिया बढी प्रयोग हुने गरिएको हुन्छ। जस्तै:- गर्छु, हिंड्छु, बर्सन्छु, फुल्छु इत्यादी…..
अब अर्को कुरा गजलको अन्तिमको सेरलाई “मक्ता” भनिन्छ। यसको शाब्दिक अर्थ समाप्त हो भने गजलको अन्तिममा लेखकले आफ्नो नाम प्रयोग गर्छ भने त्यो नामलाई “तखल्लुस” भनिन्छ। माथिको गजलमा प्यासी तखल्लुस हो। समग्रमा भन्नु पर्दा समध्वनी र समक्षर भएको भएको नै पूर्ण र सबल गजल हुन्छ। परम्परागत रुपले जाने हो भने ४+४+४+४= १६ हुनु पर्छ। भन्नु को तात्पर्य यो गण र बहर भित्र को बिषय हो। अबश्य अर्को बसाईमा लेख्नेछु।
     तपाईहरुलाई गजलमा “बहर”, “गण”, को बारेमा पनि जान्ने इच्छा होला। म आगामी लेखहरुमा थप्दै जानेछु। अत: तपाई आफै प्रयास गर्नुहोस् गर्नु पर्ने सहयोग म गर्नेछु। प्रयोग गरिहेर्नु होस्। तपाई लाई यो बिषय कस्तो लाग्यो? लेख्न नभुल्नु होला. धन्यबाद…..लेखन यात्रा को कामना…..
 
 (स्रोत : Krishna Pyasi Blog)

व्यङ्ग्य निबन्ध : हयाप्पी “भालेटायम डे “!

- चर्चित ढुंगेल

Charchit Dhungel१४ फेब्रुवरीका दिनमा कुसुन्तीले बिरुपेलाई “रेड रोज’ थमाउँदै भनि- “मेरो पि्रय विरुपे ! पल्लो घरको भरते, वल्लो घरको विदुरे, तल्लो घरको नविने र माथ्लो घरको झम्केको कसम ! भाज्या¨को दिक्पाल र ओलकको फुर्वालाई छोड्ने हो भने मन्दिपे ,सुर्जे, विनोदे ,लालु ,कमले, गब्बा ,अम्बरे ,मालु ,रने, मंजीले ,चक्रे, बले ,सुन्सा ,कर्ने ,निशान, राजेश, दिपके, बसन्ते र जिवुलेलाई नगन्दा तिमी मेरो फस्ट लभर÷ब्वाइफ्रेण्ड हौ ।”
उसले थपि- “तिम्रो यो खाइलाग्दो जिऊ देखेपछि मलाई घिऊसँगको भात पनि रुच्न छोडेको थियो र फुकी माग्न जोगवीरे धामीको छोरा मानवीरेलाई भेट्न सातामा तिन चोटीसम्म गएकै हुँ । घरैको धाराको पानी नरुचेर लभडाडाँमुनीको पँधेरोमा उतैको ऐँठेसँग पानी लिन नगएकी हैन । हेर मलाई निद्रा नपरेर चुम्बकध्वजकी छोरीकामा जाने बहाना बनाएर गोबरध्वजका चार छोराहरु पिलन्धरध्वज, लम्पटध्वज, खप्परध्वज र पापडध्वजसँग चार रात विताएकै हुँ । रै पनि तिम्रो सम्झनाले रनाको छुटाएपछि म तिमीलाई भेट्न आएकी छु ।”

उसले जोड दिँदै भनि- “आजैका मितिमा तिमीले मलाई र मेरो पवित्र÷पहिलो प्रेमलाई स्वीकार गर्यौ भने म आफुलाई धन्य ठान्नेछु । जीवनमा आफुले रोजेको बर पाउनु र खोजेको घर पाउनु ठूलो कुरा हो भनेर मेरी आमाले पोइला जानुअघि भनेकी थिइन् । तिम्रो पहाडजस्तो छाती र दरबारजस्तो घर देखेर म यो काँडैकाँडाको बाटो टेकेर आएकी छु । तिमीले मलाई तिम्री धर्मपत्नि मान्यौ भने म तिमीलाई कहिल्यै गुनासो गर्ने ठाऊँ नदिने बाचा गर्छु- महावीरेलाई जस्तै । बैदारचोकको रमेशे, शुक्रबारेको रजुवा र बेलडाँगीको बाघेलाई दिनमा एकचोटी पनि याद गर्ने छुइँन । बरु तिमी मेरो छोरो पोष्टेलाई अस्वीकार गर, बिन्ति म सुकुमारीलाई स्वीकार ।”

उसले नम्र भएर सम्हालिँदै एकै सासमा थपी- “हाम्रो खान्दानमा चोखो प्रेम गर्ने परम्परा छ । मेरी ठूली दिदीले तेस्रो घरबार नबिग्रेको भए सातौँसम्म पुग्नुपर्ने नै थिएन । पछिल्ला भिनाजुले ६ जना भण्ट्या¨भुण्टु¨सहित दिदीलाई नयाँ दुलहीका रुपमा िभœयाएकै हुन् । तिमी नै सोच न मेरी दिदीले कत्रो कृति राखी । मान्छेलाई नाम राख्न कति गाह्रो छ अचेल !
उसले नम्र भएर भनी- “झन् माइली दिदीको त के कुरा गर्नु उसको प्रेम कहानी त देश विदेशमै चर्चित छ । दिल्लीमा दुई बर्ष बिताएर आएकै महिनामा बम्बइ गएर छत्तिस महिनापछि फर्किए लगत्तै खाडी गएकी छे । उसले त पैसा मात्र हैन परिवार पनि कमाएकी छे । नपत्याए मेरी सानीमालाई अहिले फोन गरेर सोध । उसका तिनजना अनेक रंग र वर्णका छोरा घरैमा हुर्िकँदैछन् । भर्खर भन्दैथिइ पेटमा अर्को पनि बढ्दैछ रे । पैसा पनि आठ महिनामा तीस हजार पठाइसकी ।”
ऊ आत्मसम्मानका साथ अगाडि भन्दैगइ- “मेरी साँइली दिदीको पनि जिन्दगी कम्ती जोशिलो छैन । ऊ भनेपछि त गाऊँका मात्र हैन सहरका जोईटंग्रेको पनि होषहवास उड्थ्यो । उसका पछि लाग्नेको ताँती देखेर सजै जिल पर्थे । तर उसले कहिल्यै नराम्रो काम गरिन । बरु सवैका रहर पुर्याइदिइ । अहिले एउटा नेपाली निलो फिलिममा पनि मुख्य भूमिकामा अभिनय गरेकी छे । अचेल त उसको चर्चाले चुली चुमेको छ । सवै दिदीहरुले नाम राखेका छन् । सवैको हाइहाइ छ जताजतै । हाम्रो खानदानको नाम नलिने कोही छैन भन्दा पनि खेर जाँदैन, बुझेयौ ! आजबाट म पनि त्यसैलाई निरन्तरता दिन चाहन्छु । तिमी मेरो स्वच्छ पवित्र पहिलो र चोखो मायालाई स्वीकार गर ।” यति भनेर केही छिन अघि उसलाई नेत्रेले सुम्पेको गिफ्ट प्याकु विरुपेलाई दिएर उसले कुरा सकी ।

प्रतिउत्तरमा विरुपेले भन्यो- “मैले पनि तिमीलाई डान्स बारमा देखेदेखि हुरुक्क भएको मनलाई सम्हाल्न सकेको छैन । तिम्रो रुपरंग देखेर म त्यतीवेलै दंग परेको हुँ । झन् क्याविन रेष्टुरेण्टमा तिमीलाई देखेपछि त मैले मास्तिरकी सुन्तली, तल्तिरकी मनमाया, वर्तिरकी पातली र पर्तिरकी जूनठुलीलाई त हेर्नै छोडेको छु । त्यती मात्र कहाँ हो र ! भट्टीवालनीहरु उँभोकी साइँली ,उँधोकी काइँली, तलकी कान्छी र माथिकी ठूलीकान्छीलाई त भर्खरै विसर्िसकेँ । त्यसमाथि पनि पल्लो गाऊँकी पार्वती ,वल्लो गाऊँकी ऐँशेलु, डाँडागाऊँकी जुनेली र गैरागाऊँकी गायत्रीलाई त म चिन्दा पनि चिन्दिन । सुन्छ्यौ ! दोबाटोकी दिलमाया ,तिनबाटोकी टिकुली, चौबाटोकी चाँदनी र मुलबाटोकी मारुनी त झन् को हुन् को हुन् ? धरोधर्म म तिनलाई देखे पनि चिन्दिन । बोले पनि बोल्दिन ।”
उसले अगाडि थप्यो- “तिम्रै कसम भो, जुवाघरकी जेसिका, पँधेराकी पुर्णिमा, नस्ररीकी नर्बदा, बगैँचाकी बाटुली र खेतखलियानकी खस्रीलाई अबदेखि यादै गर्दिन । याद मात्र हैन तिनेरका बारेमा सोच्दा पनि सोच्दिन । तिमीलाई दोहोरी साँझमा तिनपल्ट भेटेदेखि फिल्महल मालिककी छोरी पर्दा र गेटकीकी छोरी टिकटीको त मलाई मत्ालब नै छैन । हेरन मैले ड्राइभरकी छोरी टायरी ,पुलिसकी छोरी लौरी ,घुम्तीवालकी छोरी गुट्खी र माष्टरकी छोरी डस्टरलाई नभेट्ने बाचा नै गरिसकेँ नि !
उसले सालिन शैलीमा भन्यो- “मेरो खान्दानको पनि कुरा गरी साध्य छैन बु¤यौ ! मेरो ठुल्दाजु त भाउजुले आत्महत्या गरेदेखि सानदार जेलमा छ । उसले भाउजुलाई कति माया गथ्र्यो भने खाना पकाउने, लुगा धुने, घर सफा गर्ने आदि सवै काम भाउजुलाई गर्न लाउँथ्यो । त्यति मात्र कहाँ हो र ! राती सुत्दा पनि भाउजुलाई साह्रोगाह्रो पर्छ भनेर अर्कै सुसारे राखेको थियो । उसैसँग धेरैजसो सुत्थ्यो । भाउजुले माइतमै बसौँ भन्दा पनि खुरुक्क गएर उतै बस्दै गरेको मेरो दाजु कति स्वाभिमानी थियो तिमी आफैँ मनन् गर ।”
माल्दाजुको प्रेम कथा सुन्यौ भने त तिमी छक्क पछ्र्यौ । ऊ त छिमेकीकी श्रीमति भगाएर गाऊँभरि साहसी युवा भनेर चिनिएको छ । प्रवासिएको लोग्नेकी जोइलाई भगाउन कुन आँट चाहिन्छ ! तिमी अनिभ¡ा छैनौ । तिनै माइली भाउजुका खाताको पैसा झिकेर लाहुरेनीलाई लिएर हिँडेको दाजु आजसम्म घर आएको छैन । हिजै मात्र लाहुरेनी चाहीँ आइपुगी । गाऊँकी आइमाइलाई विहानै मात्रै दाजुले उसैकी छोरीलाई लिएर हिँड्यॊ भनेर भन्दैथिइ रे ।”

ऊ भन्दै गयो- “साँल्दाजुको कुरा त भो नसोध । हरिलम्फुका घरमा हली बस्न गएको बर्ष दिन भएको छैन हरिका पाँचै जना छोरीहरु जो केटा माग्न आए पनि ¤याइँ नपार्ने भनेर भन्दैछन् भनेर माइतमा छोडेकी मेरी साइँली भाउजुले फोनमा भन्दै थिइन् । हरिका मरन्च्यासे छोरीहरु के खाएर हो अहिले त माटाको गाग्री जस्तै मोटाएका छन् भन्ने कुरो सुनेको छु । हरि पनि हारदिक्क भएर भिरबाट हाम्फाल्यो अरे भन्ने समाचार त अलिअघि बकम्फुसे रेडियोले फुकेको थियो । नपत्याए मेरा बुवालाई सोध मलाई त रेडियोले सुनाउनु अघि नै मेरी तेस्री आमाले भनेकी थिइन् । अब तिमी आफैँ बिचारविमर्श गर हाम्रो खान्दान कति चर्चित र लोकपि्रय रहेछ ।”

उसले बिट मार्नेगरि भन्यो- “तिमीसँग म जीवनको शुरुवात गर्न चाहन्छु, यसअघि कालीमायासँग जस्तै । मेरो निश्चल मायाको कदर गरेकीले तिमीलाई म आजैबाट मेरी पत्नि स्वीकार गर्दछु । साथै तिमीले जसरी मेरी पतिब्रता हुन्छु भनेर भनेकी छौ त्यसरी नै म पनि तिम्रो मात्र पतिब्रता हुनेछु (अरु कोही पछि नलागेसम्म) ।” यत्ति भनेर बिरुपेले पनि आफुलाई दुई घण्टाअघि मालतीले दिएको “रेड रोज’ कुसुन्तीलाई थमायो र फूलमायाले दिएको ‘गिफ्ट ह्याम्पर’ हातमा राखी दियो । त्यसलगत्तै दुवै जना “हग” गर्न थाले ।
मेरा तर्फबाट पनि देशविदेशमा हुने करोडौँ कुसुन्ती र बिरुपेहरुलाई- हयाप्पी “भालेटायम डे “!

(स्रोत : Sabda Sarathi)

निबन्ध : फेसबुक

- टीका बस्नेत

आज लामो समयपछि फेसबुक खोलेको छु । साथीहरुले पठाएका म्यासेजहरु एकएक गरी पढ्दै अगाडि बढिरहेको छु । मप्रति धेरैकोे गुनासो हुन्छ–सन्देशको प्रतिउत्तर नदिएकोमा । हुन पनि हो करीव दुई महिना अघिदेखि म सम्पर्कविच्छेदको अवस्थामा रहेको छु, फेसबुकको संसारबाट । सन्देश मात्र होइन धेरै साथीहरुले मलाई साथी बनाउनका लागि अनुरोध गर्नुभएको पाउँछु म । चिनेजतिका साथीहरुको अनुरोध स्विकार्छु, अनि अगाडि बढ्छु । यस्तैमा अप्रत्यासितरुपमा एउटा लेखाइमा मेरा आँखा टक्क अडिन्छन्, जहाँ लेखिएको हुन्छ, ‘मेरो कथा, मेरो व्यथा ।’

खोल्छु उक्त सामग्रीलाई, अनि सरसरति पढ्दैजान्छु । जतिजति पढ्दै अघि बढ्छु, उतिउति उकुकसमुकुस परिवेशभित्र धकेलिँदै जान्छु म । रोमा लेखिएको छ उसको नाम । ऊ कहाँकी हो ? उसको लेखाई सत्य हो या असत्य । त्यो त मलाई थाहा छैन र पनि लेखाई मर्मस्पर्शी छ । जसको जीवनको यात्रा काँडैकाडाको बीचबाट अगाडि बढेको छ । २२ वर्षे लक्काजवानी अवस्थामा धेरै हण्डर खाएकी छे उसले । यो समाजको सिकार भएकी छे ऊ । रोग, भोक र अभावबाट पिल्सिँदै–पिल्सिँदै अगाडि बढ्दैछे ऊ ।

बुबाको काखमा लुडिबुडी खेल्ने अवस्थामा बुबाको माया जानी नसक्दै बुबाको मृत्यु भोगेकी ऊ आमाको काखमा हुर्कदै आउँदा धेरै समस्याका पर्खालहरु ऊसामू तेर्सिन आइपुगेका छन् । अनगिन्ती चोटहरुले उसको छाति छियाछिया भइसकेको छ । सभ्यताभित्र चुर्लुम्म डुबेको एक्काइसौं सताब्दीको स्वार्थी परिवेशभित्र आफूलाई मोलमोलाइको परिवेशभित्रैबाट गन्तव्य चुम्ने लक्ष्य निर्धारण गरेकी छे ऊ । उसको विगत असाद्धै सुखमय थियो रे ।

बाबाको नोकरीबाट आउने रकमको छेलोकाटो गरेरै भएपछि हुर्काउनुभएकै थियो रे उसकी आमाले उसलाई । तर, आज ऊ असहाय छे । हरेक चोकचोक चहार्दैमा उसका दिनहरु बित्ने गर्दछन् । कहिले यताको चोक, कहिले उताको । उसलाई नै थाहा छैन रे आखिर ऊ किन यस्ती भई । ऊ आफै भन्छे–‘म किन यस्ती भएँ ।’
पढ्दै जाँदा उसलाई उसको परिवारले बिबाह गरिदिएको थियो रे–कुनै सम्पन्न भनाउँदो घरमा । मानवीय समवेदना हराएको सभ्य भनाउँदो घरमा ऊ लामो समयसम्म रहन सकिन रे । दिनरातको टोकेसो, रक्स्याहा श्रीमान्, आडम्वरी स्वभाव भएका त्यो घरका मान्छेहरुको स्वभावलाई जवर्जस्त सहेर बस्दा पनि त्यस घरमा बस्न सकिन रे ऊ । यो कस्तो जहाँ मानवीय समवेदनालाई धन, पैसा र पहुँचसँग तुलना गरिन्छ । आखिर किन यस्तो गर्छ चेतनशील भनाउँदो मानिसले । किन उसको परिवारले ऊप्रति त्यस्तो व्यवहार ग¥यो होला ? धन दाइजोका लागि ? पढ्दै जाँदा मलाई यस्तै लागेथ्यो । सायद् उसको माइतीले धेरै दाइजो दिन सकेन होला, त्यसैले उसलाई दाइजो कम ल्याई भनेर मानसिक तनाव दिने काम सुरु ग¥यो होला उसको परिवारले । यथार्थमा यस्तो रहेनछ । ऊ पढ्दैथिई रे स्नातक दोस्रोवर्षमा । तर, उसका श्रीमान् १२ कक्षा उत्तीर्ण गर्न नसकेर त्यत्तिकै थन्केर बसेको अवस्थामा एकदिन भट्टिमा जाँड खाँदै गर्दा एकजनाले उनलाई भनिदिएछ–‘साले ज्यादा फुर्ति लाउँदो रैछ । स्वास्नीका जति पनि पढ्न नसक्नेले हामीसँग धेरै जोरी खोज्ने । सक्छस् भने तेरी स्वास्नीको जति पढेर देखान ।’

त्यसरातको भट्टीकाण्डपछि उसलाई बारम्बार पढाइ छाड्न धम्की आउन सुरु गरेछ । पढेर ठूलो मान्छे बन्ने दृढ संकल्प बोकेकी उसका लागि पढाइ छोड्नु सजिलो थिएन । एकमनले भन्थ्यो रे छोडिदिन्छु पढाइ । तर, उसको अर्को मनले कहाँ मान्थ्यो र । जबजब पढाइ छोड्ने विचार उसको मनमा उब्जन्थ्यो, त्यतिबेला उसले सम्झन्थी बाबालाई जसले छोरीलाई देशको उच्च नागरिक बनाउँछु भन्थे, अनि सम्झन्थी आमाले आफूलाई पढाउन गर्नुभएको मिहिनेत र परिश्रमलाई । पढाइ छोड्ने मनसायमा पुगेकी ऊ यो सब सम्झेर जसरी भए पनि पढाइलाई निरन्तरता दिने निश्कर्षमा पुग्थी रे । तर, कहाँ सजिलो हुन्थ्यो र उसलाई श्रीमान्को उर्दी नमाने पछि उसमाथि दिनरात बर्सिन थालेछन्, बुटहरु, लाठी अनि बेल्टका झटाराहरु । के गरोस् विचरी यो समाज बलियाहरुको हो ।

निर्धाले यहाँ राम्रोसँग खानसमेत नपाउने सामाजिक प्रचलनभित्र ऊसँग सबैभन्दा उत्तम बिकल्प भनेको हरेक कुरालाई जसरी–तसरी सहेर बस्नु नै थियो, रत हरेक चोटहरु सहेरै भए पनि बसेकै थिई रे त्यो नरककुण्डमा । जुन कुरासँग ऊ डराउँथी, त्यो परिस्थिति पनि उसका सामु आइपुगेछ । एकरात ऊ मस्तसँग सुतिरहेको समयमा उसको रक्स्याहा श्रीमान् उसको घाँटी अँठ्याएछ । आफ्नो उर्दी नमानेर आफूले दिएका हरेक सजायहरुलाई सहर्ष स्विकारेको देखेर ऊ श्रीमतीलाई मार्ने निश्कर्षमा पुगेछ । रत अठ्याएको रहेछ उसको घाँटी ।

मस्त निन्द्रामा रहेको समयमा एकाएक कसैले घाँटी अठ्याएपछि बाँच्ने उसले धेरै प्रयत्न गरिछ । तर, नसके पछि हिर्काइछ नजिकै रहेको बियरको बोतल उठाएर घाँटी अठ्याउने व्यक्तिको ठाउकामा । भागीछ ढोका खोलेर बाहिर र बचाइछ आफूलाई ।
ऊ पढाउँथी रे बोर्डिङ स्कूलमा । तलब पनि आकर्षक नै थियो रे । उसले जिल्लाको नामुद स्कूलमा पढाउने भएको हुँदा पनि तलव राम्रो हुनु स्वभाविकै थियो । त्यसमा पनि अर्को स्कूलमा समेत पार्टटाइम पढाउँथी रे ऊ । ऊ चाहन्थी आफ्नो पारिवारिक भविष्य उज्ज्वल बनाउन । कहाँ बुझ्थ्यो र स्वार्थैस्वार्थको जालोभित्र जेलिएको उसको परिवारले ती सब कुरा । हरेक गर्दा पनि श्रीमतीले पढाइ छाड्ने छाँट नदेखेपछि श्रीमानले स्नातक दोस्रोवर्षको भरेको परीक्षा फाराममा भएका केही विषयहरु काटेर पढाइदिएछ, एकपटक कल्पना गर्नुहोस् त ।

कस्तो भयो होला बिचरीलाई परीक्षा गर्न गएको समयमा परीक्षा गर्न नपाएर घर फर्केर आउनुपर्दा । सायद् चाहेको भए सक्थी होला उसले क्याम्पसको परीक्षा फाँटमा रहेका कर्मचारीको बिरुद्धमा मुद्दा हाल्न । तर, चाहिन रे यी सब गर्न । बिचरी युद्ध हारेको सिपाहीजस्तै गरी न उत्साह, न उमङ्ग, नत जोस जाँगर सबैै हराएको जीवन हरुवा मान्छे झैं फगत सुन्यताभित्र रुमल्लीँदै फर्किथी रे घरतर्फ । जुनदिन परीक्षा दिन नपाएर फर्किइथी, त्यसैदिन उसले त्यो घर र त्यस घरसँग जोडिएका सबै नातासम्बन्धलाई सदासदाका लागि त्यागेर नयाँ यात्रा गर्ने अठोट संगालेकी थिई रे । समय बित्दै जान्छ, ऊ केही समयपछि आमा बन्छे, अर्थात् एउटी छोरीलाई जन्म दिन्छे ।

उसले एक्लै यात्रा थालेको आज पुरापुर २ वर्ष बित्नै आँटेको छ रे । तर, पनि ऊ हारेकी छैन रे–समयसँग, समाजसँग अनि उसको जिन्दगी छिनालिदिने रक्स्याहा श्रीमान्सँग । सबसँग पैंठेजारी खेल्दै छोरीको भविष्य निर्माण गर्न चाहन्छे ऊ । उसले हालसम्म पढाइ अगाडि बढाएकै छे । जुन पेशा हिजो थियो, त्यो शिक्षण पेशालाई पनि हालसम्म निरन्तरता दिँदैछे रे । हारेकी छैन रे । यो समाजलाई पाठ सिकाउन चाहन्छे रे ऊ–‘महिलाहरु पनि केही गर्न सक्छन् ।’

सरसरती पढ्छु, फेसबुकमा अलपत्र अवस्थामा रहेको यो मर्मस्पर्शी एउटी चेलीको कथा भनौं या व्यथालाई । म चिन्दिनँ उनी को हुन् ? कहाँ बस्छिन् उनी ? जान्न धेरै कोशीस गरेँ उनको बारेमा । मेरो प्रोफाइलभित्र कैद भएको उनको परिचयलाई हरेक कोणबाट नियाल्ने लाख प्रयास गरेँ । उनको ठेगाना खुट्याउन कोशिस गरेँ । तर, सफल हुन सकिनँ, किनकि उनको प्रोफाइलमा केवल नाममात्र लेखेको पाउँछु । उनको यथार्थताका बारेमा जानकारी पाउन नसकेकोमा मन साह्रै खिन्न हुन पुग्छ । उनी जोसुकै होउन्, जहाँसुकै बसुन् । र पनि उनी रहेको समाजलाई धिक्कार्न मन लाग्छ । अनि धिक्कार्न मन लाग्छ उनको पति भनाउँदो नरपिसाचलाई । आफ्नाहरुले आफ्नाहरुको भविष्य बनाउने हो । तर, उसले त बिगारेस् आफ्नै श्रीमतीको भविष्य ।
मनभित्र थुप्रै भावनाका बौछारहरु छताछुल्ल भएर पोखिने अवस्था पुग्छन् । म बसेको ठाउँबाट उठेर फतफताउन थाल्छु । ए निँच तैँले किन यस्तो कार्य गरिस् । फक्रदै गरेको कोपिलालाई बीचमै चुँडालेर फालिदिइस् । अहिले त शक्तिमा छस्, तँसँग हरेक चिज छ । धन, सम्पत्ती, बल, पहुँच । यी सबैले भरिपूर्ण तँ कुनैदिन यसरी झस्कने छस् । यसरी फस्नेछस् कि जहाँबाट तँलाई निकाल्न तेरो भगवानले पनि सक्नेछैन । तैँले जीवनमा यति ठूलो अन्याय गरेको छस् कि जुन अन्याय कुनै समयमा भगवान कहलिएका रामले गरेका थिए ।

तैँले रामायण त के पढेको होलास् र दिनरात रक्सीको नसामा चुर्लुम्म डुब्ने तँजस्तालाई फुर्सद पनि कहाँ पो हुँदो हो र । सुन् जसरी हिजो रामले एउटा जँड्याहा धोवीको कुरो सुनेर गर्भवति अवस्थामा रहेकी श्रीमति सीतालाई बीच वनमा अलपत्र अवस्थामा छोडेर आफू दरवारमा फर्केका थिए, त्यसरी नै तैँले पनि जाँड खाने क्रममा तेरो भलो नचाहने ती जँड्याहा तेरा साथीहरुको लहैलहैमा लागेर तँलाई आफूलाई भन्दा पनि ज्यादा माया गर्ने श्रीमतिको भविष्य चकनाचुर बनाइस् होइन । याद राख् राम जो भगवान कहलिएका थिए । उनीसँग धेरै शक्ति थियो, र पनि अन्त्यमा पश्चातापमा जलेर उनको जीवनको अन्त्य भएको थियो भने तँ त भुसुनो होस्, मानुद जँड्याहा होस् । त्यसैले समय छँदै जोसलाई होसमा बदलेर अगाडि बढ्नुमा नै तेरो बुद्धिमानी हुनेछ ।

(स्रोत : Ganatantradaily)

लघुकथा : स्वप्न सम्भोग

- डा. घनश्याम ‘परिश्रमी’~
Dr Ghanshyam Parishramiआफ्नो फुपू एउटा धार्मिक सम्प्रदायसँग आबद्ध भएकीले समिधामा पनि बाल्यकालदेखि नै त्यसको प्रभाव परेको थियो । जगत्लाई मिथ्या र जीवनलाई क्षणभङ्गुर ठान्ने समिधा सांसारिक मोहको जञ्जालमा फस्न चाहन्नथिन् । त्यसैले उनले आजीवन अविवाहित रहने निर्णयगरेकी थिइन् । उनको जीवनमा पनि प्रकृतिको नियमअनुसार स्वाभाविक रूपले कैशोर्यपछि यौवनले प्रवेश गरेको थियो । सात्त्विक भोजन र आध्यात्मिक चिन्तन आदिले उनले यौवनोचित आवेगलाई नियन्त्रणमा राखेकी थिइन् । समिधा परमेश्वरकी परमभक्त थिइन् । मोक्षका निम्ति रतिलाई दबाउँदै उनी हरघडी इश्वरीय उपासना र ध्यानमा तन्मयतापूर्वक लागेकी हुन्थिन् ।

एकदिन राति समिधाको जीवनमा अनपेक्षित घटना घटित भयो । “तिमीले मलाई साह्रै प्रेम गर्‍यौ† तर मैले तिमीलाई प्रेम गर्न सकिनँ । त्यसैले प्रिय, म आज तिमीलाई हार्दिक प्रेम गर्न आएको छु” भन्दै परमेश्वर अचानक उनीसामु उपस्थित भए । सुरुमा त भगवान्को दर्शन पाएँ भनेर समिधा अत्यन्त प्रसन्न भइन् । तर जब परमेश्वरले उनका संवेदनशील अङ्गहरू सुम्सुम्याउँदै चुम्बन गर्न लागे उनलाई असहज आश्चर्य बोध भयो । तर क्रमशः उनले आनन्दातिरेकको अनुभूति गर्न थालिन् । सम्भवतः इश्वरीय उपासनाका क्रममा यस्तो आनन्द उनले कहिल्यै प्राप्त गरेकी थिइनन् । त्यो स्वप्नसम्भोगको आनन्दपछि उनको मानसिकता नै बदलिएको छ । अहिले उनलाई त्यस्तै आनन्द यथार्थमा पनि प्राप्त गर्ने अव्यक्त चाहनाले कुत्कुत्याइरहेको छ ।

– भैरहवा बहुमुखी क्याम्पस, भैरहवा ।

पल्लव साहित्यिक पत्रिका–१२, औँ अङ्कबाट साभार गरिएको हो ।

लघुकथा : वास्तविक रूप



 - सिन्धु गौतम

Sindhu Gautamबिहान दस बजे सबैजना आ-आफ्नै काममा तल्लीन हुन्छौँ । सबैलाई एकआपसमा गुडमोर्निङ भन्नेबाहेक अरू फुर्सद हुँदैन तर दिउँसोको करिब एक घण्टा हामी सबै मन खोलेर कुरा गछौँ । त्यतिबेला हामी सधैँ छुट्टाछुट्टै विषयमा बहस गर्छौं । कहिलेकाहीँ त ब्रेकटाइम सकिएको पनि पत्तो हुँदैनथ्यो । हाम्रो बहस कहिले हाँसो ठट्यौलीबाट चरम गम्भीरतासम्म पुग्थ्यो, कहिले गम्भीरतामै सीमित हुन्थ्यो भने कहिले गम्भीरताले ठट्यौलीको रूप पनि लिन्थ्यो ।

सधैँझैँ आज पनि हाम्रो दिउँसो भयो । किनकिन पूरै चौबीस घण्टामा त्यो एकघण्टा आˆनै लाग्थ्यो हामी सबैलाई । हाम्रो यस समूहमा हामी सबै उस्तैउस्तै अधबैँसे उमेरका थियौँ । सायद यसैले पनि होला हाम्रो गफ मिलेको । हाम्रो यस समूहभित्रै पनि एकजना साथी थिए सुरज । उनी अलि भिन्न स्वभावका थिए । भिन्न भन्नाले उनी हामीसँग नमिल्ने होइनन् कि अलि बढी कट्टर र अनुशासित हुँ भन्थे । आजको हाम्रो चियाको साथी गफको विषय बन्यो- पत्नीले बढी पतिव्रता धर्म निर्वाह गर्छे कि पतिले बढी पत्नीव्रत धर्म ? यसमा धेरै बहस भयो । सबैले आ-आˆना दरिला धारिला तर्क राखे । पुरुष नै भए पनि धेरै पुरुष साथीहरूले पत्नीकै पक्ष लिए तर सुरजले भने आफूलाई पत्नीव्रत पतिका रूपमा उभ्याए ।

सुरज मेरै घरको बाटो भएर जान्थ्यो तर प्रायः हामीसँगै हुँदैनथ्यौँ । आज हाम्रो र्फकने समय एउटै भएछ । हामीसँगै फर्कियौँ । पुसको दिन, साँझको पाँच बजेपछि त झमक्कै । त्यसमाथि आज चीसो हावा अनि आकाश पनि मडारिएको थियो र अँध्यारो भइसकेको थियो । आकाशका आँखाहरू टिलपिलाएजस्ता देखिन्थे । मेरो घरदेखि करिब एक घण्टा मोटरसाइकलको बाटो टाढा पथ्र्यो उसको घर । त्यसैले मैले उसलाई मेरो घरमा नै बस्न अनुरोध गरेँ । सुरजले पहिले त नकार्‍यो तर उसको अनुहारमा देखिएको खुसी मैले पढिहालेँ, त्यसलाई छोप्न सकेन उसले ।

मैले मेरो श्रीमान् नभए पनि उहाँका सबै सामान जतनका साथ राखेकी थिएँ । दराजबाट उहाँको नाइटगाउन झिकेर दिएँ अनि मैले गेस्टरुममा आउन अनुरोध गरेँ । उसले सहजै स्वीकार्‍यो । ऊ आयो, एकदमै अकल्पनीय र अस्वाभाविक रूपमा । मेरा हातहरूले कतिखेर उसको गालामा बज्र प्रहार गरे, मैले थाहा पाइनँ, पत्नीव्रत पति हुँ भन्दै व्याख्या गर्ने एउटा पुरुष आज एउटी निरीह विधवामाथि यसरी प्रस्तुत हुँदा मैले संसारका सबै पुरुष जातिलाई थुक्न पुगेछु । त्यसबेला मेरो नैतिकताले उग्र रूप लिएछ । म महाकाली भइसकिछु ।
ऊ आफ्नो अनुहार लुकाउँदै मेरो थुकले निथ्रुक्क भिजेको शरीर लिएर निशब्द बाहिरियो । म अझै थुक्दैथिएँ । सायद उसले थाहा पायो पाएन, मैले उसको पत्नीव्रत धर्मको परीक्षा लिएकी थिएँ ।
हाल- शिक्षिका-गण्डकी टेक्निकल कलेज, दमौली

(स्रोत : मधुपर्क २०६८ कात्तिक)

नेपाली माटोको केस्रा: सङ्क्षिप्त सिंहावलोकन

- असफल गौतम 

                                             सन्दर्भः

समीक्षक:- असफल गौतम
पोखरा 
            नेपाली वाङ्मयको क्षेत्रमा आयातित विधाहरुको सधै आफ्नो दबदबा जमाएर बसेको अवस्था छ। गजल, रुबाई, हाइकु, ताङ्का, चोका, सेदोका जति आए सबैले आफ्नो स्थान जमाइसके भन्दा अन्यथा नहोला। विगतमा हाइकु संरचनाजस्ता देखिने लोकजीवनका गीतहरु हाम्रा घर आँगनमा भए पनि वर्तमानमा सैद्धान्तिक संरचनाका हिसाबले हाइकु लेखनले स्वर्ण वर्ष पार गरेको छ। निबन्ध शिरोमणी शंकर लामिछाने (वि.सं. १९८४ चैत ३–२०३२ माघ १०) ले नेपालमा संरचनागत हाइकु लेखनको शृङ्खलालाई भित्र्याउँदा उनलाई खिसी गरेकाहरु वर्तमानमा हाइकु लेखनको लर्को देख्दा दङ्गै परेका छन्। यहाँ यो सन्दर्भ जोड्न खोज्नुको मूख्य कारण आयातित विधाले जसरी आफ्नो स्थान जमाएका छन् त्यसरी नै नेपाली विधाले पनि जमाउन सक्नुपर्छ भन्ने पङ्क्तिकारको मान्यता हो। नेपालीहरुको नयाँ विधाप्रतिको उत्साह र चासो कै कारण नेपाली स्रर्जकले नै वाङ्मयको क्षेत्रमा नयाँ विधाको
पर्दापण गराएका छन्। उक्त विधाको दस्तावेजसहितको कृतिको यहाँ थोरबहुत चर्चाको प्रयास गरिएको छ।

विषयप्रवेशः
             मौलश्री लिम्बु (२०३९ पुस १२) सेरबहादुर लावती र मिलन कुमारी माबोको कोखबाट सतासीधाम–३ झापाका जन्मेका सन्तान हुन्। दश जोड दुइसम्मको अध्ययन गरेका लिम्बु विशेषत कथा, लघुकथा, कविता र गजल लेखनमा क्रियाशील देखिएका थिए। उनी रोजगारीको सिलसिलामा सन् २००६ देखि हालसम्म मलेसियामा आफ्नो श्रमको पसिना बगाइरहेका छन्। मलेसियामा जिन्दगीको धुवाँ उडाएर दुई पैसा कमाउछन्, त्यसपछि नेपाली वाङ्मयको क्षेत्रमा केही गर्नुपर्छ भन्ने मान्यता राख्छन्। त्यसैको उपज उनले वर्तमानमा नेपाली साहित्यमा नयाँ विधा ‘केस्रा’को पर्दापण गराएका छन्।
            केस्रा जम्मा छ हरफमा लेखिने विधा हो। प्रत्येक दुई हरफ अलग हुने तर सबै हरफ एउटै विषयवस्तुमा अन्योन्याश्रित हुनुपर्ने संरचनात्मक पक्ष रहेको छ। अन्योन्याश्रित सम्बन्ध रहेर मात्र भएन। पहिलो र दोस्रो हरफले उठान गरेको सन्दर्भलाई तेस्रो र चौथोले विश्राम दिनुपर्यो। अन्तिमका दुई हरफले उपयुक्त सन्दर्भलाई समापन गर्नुपर्ने बाध्यता यो विधाले राखेको देखिन्छ। यो केस्राको बाहिरी पक्ष मात्र हो। यस्तै केस्रामा अनुप्रास र शीर्षक पनि अनिवार्य रहेको छ। जम्मा छ हरफ त्यसमा पनि वर्णलाई समेत गणना गर्नुपर्ने। झट्ट हेर्दा झण्झटिलो पनि लाग्ने। एक केस्राका लागि बढीमा बाह्र अक्षर हुनुपर्ने प्रावधान रहेको छ। बाह्र अक्षरको केस्रा हुनुपर्ने भएतापनि प्रत्येक हरफमा एक स्वर वर्ण अतिरिक्त रहन सक्ने नियमले केही सहजता प्रदान गरेको देखिन्छ। यस्तै अर्को नियम केस्राको पहिलो हरफको अनुप्रसा र पाँचौ हरफको अनुप्रास पनि एउटै हुनुपर्ने त्यो पनि यो विधा भित्रको नियम रहेको छ। हेरौं पङ्क्तिकारको "चाकडी" शीर्षकको एक केस्राको नमूनाः

    "चाकडी"

खै सधै दुई अक्षर केरिरह्यो
चाकडीले सीमा नाघ्दा हेरिरह्यो

उनी आजको चलन यस्तै भन्छन्
तर एक्लै लामो सास फेरिरह्यो

दिनरात नभनी नै केरिरह्यो
दोसल्ला त अर्कैले पो बेरिरह्यो।   (गौतमः स्पन्दन)
         प्रस्तुत केस्रामा चाकडी शीर्षक रहेको छ। केरिरह्यो, हेरिरह्यो, फेरिरह्यो र बेरिरह्यो अनुप्रासका रुपमा आएका छन्। पहिलो र दोस्रो हरफले सन्दर्भको उठान गरेका छन्।  एक सर्जक सधै दुई अक्षर केरिरहेको छ। तर यहाँ चाकडीले सीमा नाघेको छ। पहिलो र दोस्रो हरफमा उठेको सन्दर्भलाई तेस्रो र चौथोले विश्राम दिएका छन्। पाँचौ र छैठौले चाकडी शीर्षकमा उठान गरिएको विषयलाई मत्थर पारेर छोडेको छ। पहिलो हरफको केरिरहयो र पाँचौ हरफको केरिरह्यो अनुप्रास एउटै रहेका छन्। यस्तै केस्राका प्रवर्तक मौलश्री लिम्बुको "निर्वाचन" शीर्षकको एक केस्रा हेरौं। केस्रामा रुचि राख्ने पाठकका लागि थप सामग्रीः

     "निर्वाचन"

लु आऊ राष्ट्रको ढुकुटी सकाऔं
चुनाव गरी खुशियाली मनाऔं

हाम्रो लागि मर्ने मार्ने के कति छन्
जनता लडाई हिसाब लगाऔं

जे जसरी हुन्छ विवाद सकाऔं
नेता हामी जनतालाई खटाऔं।
        माथिका दुई केस्राबाट थोरबहुत भएपनि प्रष्ट हुन्छ। नेपाली उत्पादन केस्रा लेखनका प्रावधान के के भन्ने कुरा। थोरै समयमा धेरै लेख्न नसकिएला तर धेरै अध्ययन गर्न सहज सकिने विधा केस्राको उत्थानका लागि दस्तावेजसहितको कृति पठनिय रहेको छ।
"साहित्यमा केस्रा विधाको घोषणा तथा दस्तावेज"
-२०७० 
      लिम्बुले प्रतिपादन गरेको "साहित्यमा केस्रा विधाको घोषणा तथा दस्तावेज" सहितको केस्रा लेखन मञ्चले प्रकाशन गरेको कृति हो केस्रा (२०७०) । एक सय एक रुपैया बिक्री मूल्य राखिएको कृति बजारमा आएको छ। एक सय ५२ पृष्ठमा फैलिएको उनको उक्त कृतिमा प्राध्यापक डा. गोविन्दराज भट्टराईले भूमिका लेखेर विधाको बाटोलाई सहजता प्रदान गरेका छन्। मौलश्रीले केस्रा विधाको प्रचारप्रसारका लागि सामाजिक सञ्जाललाई माध्यम बनाएर त्यसलाई मलजल गरेको देखिन्छ। विशेष गरी कृतिको नाम नै केस्रा राखेर प्रकाशन गरिएकाले यो कृतिले केस्रा भनेको के हो, कसरी लेख्ने, सीमा र सन्दर्भ के रहने। संरचना पक्ष, भाव पक्ष र शब्दसंयोजक कस्तो रहने। कस्ता शब्द उच्चारणका हिसाबले केस्राका लागि बाधक छन् भन्ने सम्पूर्ण समस्याको समाधान नै यसको मूख्य विषयवस्तु हो। साथसाथै नमुनाका रुपमा हुनुपर्छ उनले यो विधाको बीजारोपण गर्नु भन्दा पहिला लेखिएका, परामर्श गरिएका र संरचनामा ढालिएका केस्रालाई समावेश गरेका छन्। कृतिमा १७ पृष्ठ लामो घोषणापत्र समावेश गरी केस्रा विधातर्फ अग्रसर हुन चाहनेका लागि बाटो फराकिलो पारिएको छ। मुख्यत केस्रा प्रकारका हिसाबले आकृति, आवृत्ति र अलङ्कार केस्रा गरी तीन प्रकारका लेख्न सकिने कृति अध्ययनको सन्दर्भमा देखिन्छ। केस्रा सामान्य अर्थमा भन्दा सजिलो शब्द हो। लिम्बुले प्रतिपादन गरेको केस्राको नियम र संरचना पक्षलाई सुरुवाती दिनमा झण्झटिलो लाग्न सक्छ। उनले केस्राप्रेमीका लागि सहजता दिनका लागि नै प्रारम्भिक चरणका केस्रामा २० स्रष्टाका केस्रा समावेश गरेका छन्। यसैगरी प्रतिनिधि केस्रामा एक स्रष्टाका कम्तिमा एकदेखि १४ वटा सम्म गरी ४२ स्रष्टाका केस्रा समावेश गरेका छन्। जसका कारण केस्रा लेख्न चाहने साधकका लागि मार्ग प्रसस्त बनाएको छ।
        कृतिका  केही सीमाहरु रहेका छन् नै। यो केस्रा विधाको पहिलो घोषणापत्र सहितको दस्तावेज हो। लिम्बुले कृतिमा समावेश गरेका केस्रालाई प्रारम्भिक चरण र प्रारम्भिक उत्तरार्द्ध चरण भनी विभाजन गरेका छन्। त्यो सन्दर्भ असान्दर्भीक देखिन्छ। उनले नयाँ विधाको बीजारोपण गरे। उनी आफैँले जन्माएको सन्तानको आफैँले काल विभाजन गर्न थाले भने आफ्नो इतिहास किन अरुले लेख्नुपर्यो त ? यो सोचनिय कुरा हो। यस्ता सन्दर्भमा उनले ख्याल राख्नै पर्छ वा सल्लाहकारले सल्लाह दिनैपर्छ।

निष्कर्षः
        लिम्बुको बाटोमा यात्रा गर्दै केस्रा विधाका कृति प्रकाशन गर्ने स्रष्टाहरु पनि जुर्मुराएका छन्। हालसालै एकल केस्रासंग्रह "सहयात्री" प्रकाशन भइसकेको अवस्था छ। यो अवस्थामा केस्राले गति द्रुतरुपमा लिनेछ भन्ने प्रमाण हो। किनभने हिजो शंकर लामिछानेले हाइकु विधालाई नेपालमा भित्र्याउँदा कृति प्रकाशन हुनका लागि झण्डै लेखनको स्वर्णवर्ष कुर्नु परेको अवस्था थियो। वर्तमान समयको माग हो केस्रा, त्यसैलाई मध्यनजर राखेर लिम्बुले प्रतिपादन गरेको विधा सबैका लागि रुचिको विषय बन्नेमा दुईमत राख्नुपर्ने देखिदैन। लिम्बु हजार माइलको यात्रामा निस्केका छन्। पाइलो सार्ने प्रयत्नमा उनलाई कतिले सहयोग गर्दछन् कतिले असहयोग त्यो समयले बताउने कुरा हो। जे भएपनि सधै नेपाली वाङ्मयको क्षेत्रमा आयातित विधाले दबदबा जमाइरहेको बेला नेपाली भूमिको साहित्यिक विधा केस्राले आफ्नो मार्ग निर्धारण गरिसकेको छ। मौलश्री एउटा माध्यम मात्र हुन्। उनलाई फूलाउने, फलाउने र मौलउने वातावरणको सिर्जना गर्ने कर्तव्य तपाईं हाम्रो काधमा आएको छ। त्यसैले लिम्बुले प्रतिपादन गरेको केस्रा विधालाई मलजल गरौं र नेपाली प्रतिभालाई पहिचान दिलाउ यसैमा हाम्रो कल्याण हुने छ।
सन्दर्भ सूचीः
लिम्बु मौलश्री, (२०७०) "साहित्यमा केस्रा विधाको घोषणा तथा दस्तावेज":- केस्रा लेखन मञ्च
श्रेष्ठ, श्रीओम, (२०७०) मधुपर्क, वर्ष ४६, पूर्णाङ ५३२ असोज, काठमाडौं :-  गोरखापत्र संस्थान
गौतम, असफल (२०७०) स्पन्दन, वर्ष ५, अंक ५, असोज, स्याङ्जा चित्रेभञ्ज्याङ साहित्य सदन
******   *****     ******
[दृष्टान्त:- प्रयुक्त  समीक्षाको  शिर्षक  समीक्षक कै स्वीकृतिमा परिवर्तन गरिएको हो ]









सभार   :  केस्रा मन्च



 प्रकाशित:-  २०७० पौष "आदर्श समाज" दैनिक पत्रिका ,पोखरा ,कास्की 

मौलश्रीको केस्रा नियाली सकेपछि

 

- सुरेन्द्र भण्डारी
बिर्तामोड,झापा

- सुरेन्द्र भण्डारी

बैदेशिक रोजगारीको सिलसिलामा श्रम बेच्न मलेसिया पुगेका एक नेपालीले साहित्य विधामा छुट्टै खोज र अन्वेषण गर्दै 'केस्रा" विधालाई जन्माएका छन् । नेपाली साहित्य आकासमा यो सम्भवतः कान्छो विधाको रुपमा उदय भएको नविनतम् चिन्तन पनि हो । साहित्यप्रतिको रुची, खोज र समायानुकुल फेरबदल कै क्रममा झापाली यूवा मौलश्री लिम्बूले मलेसियामा रहेर सन् २०१२ जनवरी–१ तारिकका दिन मलेसियाको राजधानी क्वालालम्पुरबाट केस्रा विधाको घोषणा तथा दस्तावेज सार्वजनिक गरेका थिए । सृजनशिलता आफूमा एक अब्बल उत्कृष्ट र कालजयी कर्म हो । विचारलाई सकारात्मक, सृजनशील, उर्वर र जीवन–जगतको हितमा व्यवहारतः कार्यान्वयन गराउनु अर्को महान मानवीय कार्य हो । फलस्वरुप नेपाली साहित्यमा आयातित विधाहरुको हिमालचुली चलीरहेका वेला छुट्टै पहिचान र बेग्लै पहिचान खोजिनु आफैमा एउटा महत्वपूर्ण उपलव्धी हो ।

     विश्व साहित्यमा हालसम्म अनेकौ विधाहरु प्रतिपादन भइसकेका छन् । ती विधाहरु राष्ट्र र राष्ट्रिय भाषा अन्तर्गत प्रचलनमा आउनुका साथै अन्य भाषामा पनि रुपान्तरण भई स्थापित
भई सकेका छन् । समय र परिवेश बमोजिम कतिपय विधाहरुको विषयगत क्षेत्र, आगमन र संसोधन हुँदै गएको हामी पाउन सक्छौं । ‘शारदा’ युगमा नेपाली साहित्यको पश्चिमी साहित्यसंग एकीकरण भएपछि आधुनिक साहित्यका लघु र लघुतम स्वरुपहरुको लेख्न, पढ्न र समिक्षणमा तिव्रता आएको हो । नेपाली साहित्यमा समस्या पूर्ति र लघु कविता नेपालीको एकीकरणसंगै लेख्न थालिए पनि वि.स. १९५८ मा छापाखाना भित्रिएपछि पद्य र गद्यमा साहित्यका लघुरुप देखिन थाले । विश्व साहित्यलाई गजल, उर्दु, हिन्दीबाट आयो, हाइकु र ताङका जापानबाट, सिओ कोरियाबाट आयो भने रवाई अरबबाट आएको हो । साहित्य विद्यामा प्रत्येक विधाको छुट्टै तत्व तथा आधारहरु हामी पाउँछौं । मूलतः साहित्यलाई चार प्रकारमा विभाजित गरिएको छ । जसमा आख्यान, कविता, निबन्ध र नाटक रहेका छन् । तिनलाई पनि अलग–अलग नजरले हेरिने गरिएको छ । जस्तो की आख्यानभित्र हामी उपन्यास, कथा, लघुकथा, आत्मकथा आदिलाई राखिएको छ भने कविता विधामा कविता, गीत, गजल मुक्तक आदि पर्दछन् । त्यस्तै निवन्ध भित्र निवन्ध, प्रवन्ध नियात्रा संस्करण आदि र नाटकमा पनि एकाङ्की र पूर्णाकी पर्दछन् । जसलाई पनि अहिले आएर सुक्ष्म अध्ययनपछि दुई भागमा बाढेर चर्चा परिचर्चा गरिन्छ । आख्यान र अनाख्यान रहेका छन् । यसरी नेपाली साहित्यलाई सुक्ष्म अध्ययन गर्दा साहित्यप्रति श्रमिकहरुको संलग्नता बढेर गएको पाइन्छ हाल आएर लघु रुपका साहित्य रचना ह्वात्तै बढेका छन् । गद्यमा लघुकथा, निवन्ध, नियात्रा आदि विधामा काम भएका छन् भने लयात्मक विधामा कविता, गीत गजल, मुक्तम, रुवाई गीति कविता आदिमा आध्यात्मिक कलम चलेका पाइन्छ । मूलतः अहिलेसम्म स्थापित रहेका नेपाली साहित्य विधाहरुको विषयवस्तुहरु फराकिलो हुने गर्छ ।

     प्रत्येक साहित्यविधाहरुमा एक तत्व प्रधान हुने गर्छ जसले गर्दा विषयवस्तु एक भएतापनि प्रस्तुति, शैली, स्वाद आदि फरक हुन्छ । गीत, कविता, गजल कुनै काव्यमा आधारित भएपनि यिनीहरुको प्रमुख तत्व भएको लय तथा छन्द हो । नाटकमा कहानी भएपनि संवाद प्रमुख हुन्छ । त्यस्तै कथामा कथ्य विस्तार, लघुकथामा लघुता, निवन्धमा वैचारिकता आदि प्रमुख तत्व मानिन्छ । यसै क्रममा झापा सतासीधाम निवासी मौलश्री लिम्बूले वैचारिकतामा एक पक्ष वा विषय बस्तुको कुनै एक खण्ड वा अंशको स–विस्तार भएमा त्यसलाई केस्रा भन्न सकिन्छ भनेर साहित्यमा केस्रा विधाको घोषणा तथा दस्तावेज हामी माझ लिएर आएका छन् । मौलश्रीले प्रतिपादन गरेको केस्रामा उठानको दुई हरफ, विश्रामको दोस्रो हरफ र बैठानको दुबै हरफको अन्तिममा अनुप्रासको प्रयोगमा रहेर यसलाई लेख्न सकिने जनाएका छन् । यो विधाले मान्यता दिएका वा निर्णय गरिएका कुनैपनि छन्दको प्रयोगविना स्व छन्द लयमा लेख्न सकिने जनाइएको छ । केस्रालाई मुख्यतय तीन खण्डमा विभाजित गरिएको छ । जस अन्तर्गत आकृति केस्रा, आवृत्ती केस्रा र अलंकार केस्रा रहेका छन् । यसमा अनुप्रासको प्रयोग भएको पाउन सक्छौं । एउटा केस्रामा चारवटा अनुप्रासको प्रयोग हुनेछ । वैठानको पहिलो हरफमा उठानको पहिलो अनुप्रास दोहोरिनु बाहेक अन्य अनुप्रास दोहोरिएमा मान्य हुने छैन । अनुप्रासलाई पनि चार प्रकारमा प्रयोग गर्न सकिने दस्तावेज तयार गरिएको छ । जस अन्तर्गत समश्रुति अनुप्रास,स्वरश्रृति अनुप्रास,अल्पश्रुति अनुप्रास र आश्रित अनुप्रास रहेका छन् । उठानको दुवै हरफ, विश्रामको दोश्रो हरफ बैठानको दुबै हरफको श्रृतिमाधुर्य, शब्दलंकारका कारण अनुप्रासको प्रयोग हुनु अनिवार्य मानिएको छ । केस्रालाई समकालिन नेपाली शब्दकोषमा सुन्तला, कागती, भोगटे जस्ता रेसादार फल र लसुनको पोटीमा रहेका सजिल्यै छुट्टिने एउटा खण्ड नै केस्रा हो भनिएको छ भने सरल नेपाली शब्दकोषमा फलफूलको भित्रपट्टीको तह वा टुक्रालाई केस्रा भनिएको छ । कुनै एक अंशलाई नेपाली साहित्यमा सुक्ष्म पहिचान गरी सोही पक्षमा मानवीय समवेदना तथा संवेगबाट उत्पन्न हुने भाव वा रसको एक पक्षको अभिव्याञ्जनालाई नै यसका प्रतिपादक लिम्बूले केस्रा मानेका छन् ।

     केस्राको संरचना छ हरफमा लेखिए पनि प्रत्येक दुई हरफ अलग–अलग रहनेछन् । तर यी सबै हरफ एउटा विषयवस्तुमा अन्योन्याश्रीत हुन जरुरी मानिएको छ । आधारभूत तत्वभित्र प्राविधिकता, शिल्प, लय प्रस्तुति, विषयवस्तु, भाषा वाचन अवस्था र समयसीमासमेत निर्धारण गरिएको छ । २०६८ साल असोज २६ गतेदेखि पुस १७ गते सम्मलाई प्रारम्भिक चरण मानिएको छ । त्यस्तै प्रारम्भिक उत्तरार्द्ध  चरण त्यसपछिलाई मानिएको छ । सम्पूर्ण केस्रा सर्जकहरुमा समर्पण रहेर तयार पारिएको पहिलो संस्करणलाई केस्रा लेखन मञ्च, नेपाली केस्रा मञ्च नेपाल, नेपाली केस्रा मञ्च मलेसिया, नेपाली केस्रा मञ्च यू ए ई र नेपाली केस्रा मञ्च कतारले प्रकाशनमा ल्याएको छ ।
   त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डा.गोविन्दराज भट्टराईले केस्राको भूमिका लेख्ने क्रममा भनेका छन्–केस्रालाई विधा भन्नु आवश्यक छैन जस्तो लाग्छ किनभने यो विधा नभएर कविताको एउटा स्वरुप मात्र हो । डा.भट्टराईकै भनाईलाई गहिरिएर अध्ययन गर्ने हो भने पुराना कुराको परिमार्जन या नयाँ कुराको जन्म समयको माग हो भन्न सकिन्छ । यसैपनि विदेशी भूमी नेपालीका लागि बढेमानमा कार्यरत आम नेपालीका बारेमा ठूलै जमातले सकारात्मक नसोचिरहेको अवस्था छ । मलेसियामा जाने सबै नेपालीहरु सुरा–सुन्दरीहरुमा लठ्ठिन्छन् भनेर टीका टिप्पणी भइरहेका बेला नेपाली साहित्यको फूलवारीमा कर्मशील हात मार्फत रोपिएको यो ‘केस्रा’ नामक उन्नत विरुवाका कारण एउटा सम्भ्रान्त जमात यस्तो प्रगति देखेर चुपचाप भएको छ । सधै झरिला दानाहरु र रसिला केस्राहरु लटरम्बै फलाउन प्रवासीएका नेपालीले गरेको यो कार्यको मुक्त कण्ठले प्रशंसा गर्दा पनि नेपाली साहित्यको ढुकुटी भरीभराउ पार्न सकिन्न लगाएको बाली भित्र्याउन सम्पूर्ण साहित्यानुरागीको सहयोगको उत्तिकै खाँचो मैले महशुस गरेको छु ।
    विगत लामो समयदेखि प्रवासी भूमिमा श्रम बेच्न पुगेर हालसालै स्वदेश फर्किएका मेरा पुराना मित्र पाँचथर फाकतेप – ३ निवासी इक्साहाङ्ग चेम्जोङ्गले एक भेटमा "साहित्यमा केस्रा विधाको घोषणा तथा दस्तावेज" नामक पुस्तक दिएका थिए । नेपाली साहित्य समाज, मलेसियाका सचिव समेत रहेका उनी यो विधामा प्रारम्भिक उत्तरार्द्ध चरणका सर्जकका रुपमा चिनिएका छन् । २०५५ साल ताका पाँचथरको फाक्तेपमा रहेको जनकल्याण माध्यमिक विद्यालयमा मसंग अध्ययनरत रहँदा देखि नै साहित्य प्रति झुकाव राखेका उनले ‘अनर्थ प्रेम’ उपन्यास र फूलको थुङ्गा गिती एल्वम बजारमा ल्याइसकेका छन् । उनकै केस्रालाई हेर्ने हो भनेपनि चेतनशील मन भीत्र सजिव विम्वहरु चलायमान भएर उभिएको पाउन सक्छौं । उनी केस्रा भित्र यसरी चलायमान भएका छन्–
"समर्पण"

यो तिम्रै हो मन
यो तिम्रै हो तन

सम्हाली देउ प्रेम
यो तिम्रो हो धन

यो तिम्रै हो मन
यो तिम्रै हो पन

    कुसल साहित्यकारका रुपमा चिनिएका उनले आफ्नी प्रेमीकालाई तन, मन, धन, सम्पूर्ण कुरा उनैलाई सम्पिएको कलाउँदै साहित्यनुरागी पाठकका बीचमा समेत नौलो रसस्वादन गराएका छन् । त्यस्तै पराजित राम भने केस्रा भित्र यसरी पोखिएका छन् ।
"भरिया"

बोकेर साहुको भारी
पुग्छन् भन्ज्याङ्ग पारी

दुई छाक टार्न गाह्रो छ
स्वास्नी मान्छे नयाँ सारी

थाप्लोमा पीरको भारी
बन्दकी छ पाखोवारी।

     यो त प्रतिनिधि केस्रा मात्र रहेको छ । यस्ता अनेकौं केस्राहरु यस दस्तावेज भित्र संकलित छन् । भन्ज्याङ्ग पारी पुगेर नेपाली मन छताछुल्ल भएर पोखिएको छ । नेपालमा रहदा गरिवको पीडा सम्झेर थाप्लोमा पीरको भारी बोकेर भएपनि नेपाली साहित्यलाई फलाउने फुुलाउने कुरामा नेपालीले पुर्याएको योगदान प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै समग्र विधा र प्रतिवादक प्रति शुभेक्षाका शब्द टक्र्याउँदछु ।

Wednesday, January 6, 2016

हाइकु लेखन र त्यसको काव्यात्मकता


                        
- टंक सुब्बा
हाल- हंगकंग 
   - टंक सुब्बा (सम्वाहाङफे,लिम्बु)


      अहिले म संग चौमासीक हाइकु विशेषाङक "बर-भञ्ज्याङग" छ । हाइकु सम्वन्धि एउटा लेख तयार पार्नको लागि निक्कै महिना अगाडीबाट तम्सिरहेको छु । तर हङकङको ब्यस्तताले उक्त पत्रिका पढ्दै झोलामा थन्क्याउँने मात्र गर्थे। किनकी पढेर लेख्ने समयको अभावले यो क्रम निक्कै समय बढ्यो । तै पनि हिम्मत हारीन किनभने म हाइकु लेख्न धेरै प्रयासहरु गर्छु ।मेरो हातमा भएको पत्रिका बि.सं.२०५८ बैशाक १२ गते हालका राष्ट्रिय गानका रचायिता व्याकुल माइला उर्फ प्रदीप कुमार रार्इको हस्ताक्षर साहित उपहारको रुपमा पाएको हुँ । यो पत्रिका पाउँदा हाइकुमा त्यति चासो पनि थिएन । फाट्ट फुट्ट लेख्ने गर्थे। त्यसैले पत्रिकालाई त्यति महत्व दिएको थिइन । किनकी यो गोजी पात्रो अथवा जेबि पात्रो आकारमा मात्र छापीएको छ । तर पछि भित्री विषयहरु पढ्दै जादा मेरो हाइकु लेख्ने आधार नै बन्यो चौमासीक हाइकु विशेषाङक बर-भञ्ज्याङग । खास गरेर त्यसबेला मैले कवि उत्तर कुमार रार्इको सम्पर्कबाट ब्याकुला माइला उर्फ प्रदीप कुमार रार्इलाई चिन्न पुगेको हुँ। दक्षिण कोरीयामा छदा नजिक बन्नु भएका साहित्यकार मित्र मनोज श्रेष्ठ उर्फ मनोजबाबु "आशय"ले मेरो पहिलो कविता संग्रह “युद्धभित्र उभिएका बुद्धहरु” प्रकाशनको क्रममा यी सबै साथीहरुसंग परीचित हुन पुगेका हुँ । हुन त हाइकुको विषयमा
यो चौमासीक हाइकु विशेषाङक बर-भञ्ज्याङग पाउँनु भन्दा अगावै पनि केहि जानकारी त थियो हाइकु कसरी लेखिन्छ भनेर । तर काब्यात्मक धारणाको बिषयमा अनभिज्ञ नै थिए । पर्याप्त श्रोतको अभावमा हाइकु लेखन कसरी अगाडी बढाउँने भन्ने बिषयमा कठिनाई भैरहेको थियो। जब मैले चौमासीक हाइकु बिशेषाङक "बर-भञ्ज्याङग" हात पारे तव हाइकु सम्वन्धि धेरै कुरा जान्ने अवशर मिल्यो । किनभने नेपालका हाइकु सम्वन्धि साहित्यिक हस्तिहरुले आफ्नो विचार,हाइकु लेख्ने तरीका,हाइकुको संरचना र काब्यात्मक धारणा बारे दुइ लेख संगसंगै अनगिन्ति नाम चलेका हाइकु कविहरुको कविता समावेश गरीएका रहेछन्।यसकै अध्ययन पाश्चात झण्डै २०० को संख्यामा हाइकु लेखि टोपल्ने प्रयास गरेको छु । हाइकु लेखन जापानी लघु काब्य विधा हो। यस सम्वन्धि नेपाली साहित्यमा निक्कै कम मात्र लेखहरु लेखिएका छन्। म पनि हाइकु लेखनको विद्यार्थी नै हुँ । त्यसैले आज म चौमासीक हाइकु विशेषाङक "बर-भञ्ज्याङग" पाएको ठीक १२ बर्षपछि जानकारी मूलक लेख लेख्ने घृष्टता कस्दैछु । यो लेख यहि पत्रिकामा आधारीत रहेर लेख्ने प्रयास गर्नेछु ।
         खास गरेर मैले फेसबुकमा बढी हाइकु सम्प्रेषण गर्ने गरेको छु । किनभने आजको जटिल समयमा सबै मानिसहरु ब्यस्ततामा हुन्छन्,हतारमा हुन्छन्। यहि ब्यस्त समयको उपयुक्त खुराक हाइकु बन्न सक्दछ भन्ने मेरो ब्यक्तिगत सोचाई हो। किनभने हाइकुमा थोरै भन्दा थोरै शब्द प्रयोग गरेर तिन हरफमा लेखिने भएकोले पाठकहरुलाई त्यति झिंजो नहुन सक्छ । संरचनागत हेर्दा पनि ५+ ७ + ५ गरेर जम्मा जम्मी १७ अक्षर मात्र समावेश गरेर सटिक ढङगले लेखिने वा प्रस्तुत गरीने भएकोले पाठकहरुको रोजाईमा पर्छ भन्ने लाग्दछ । थोरै शब्दमा लेखिए पनि त्यसको अर्थ खोज्दै जाने हो भने एउटा उपन्यास बराबर नै हुन्छ । अर्कोतिर फेसबुकबाटै परीचय हुन पुगेका फेसबुकिय मित्र साहित्यकार आनन्द श्रेष्ठसंग एक दिन फेसबुकको च्याटमा हाइकु सम्वन्धि जानकारी दिन आग्रह गर्नुभयो। र जानकारी फेसबुकको इनबक्समा पठाई दिन पनि भन्नु भयो। प्रतिउत्तरमा मैले हुन्छ भनि हाले। तर समयको गतिशिलताले हाइकु सम्वन्धि जानकारी दिन नपाई झण्डै ३,४ महिना बिति गयो। त्यसै अवधिमा मैले निक्कै हाइकुहरु फेसबुकमा सम्प्रेषण गरी सके तर लेख भने सम्प्रेषण गर्न सकिन । किनभने लेख तयार गरेर सम्प्रेषण गर्नु त्यति चानचुने कुरो पनि होइन । त्यसैले यसै लेख मार्फत हाइकु लेखन र काब्यात्मक धारणा सम्वन्धि जानकारी राख्ने प्रयास गर्नेछु ।

प्रारम्भ
        चौमासीक हाइकु विशेषाङक बर-भञ्ज्याङगको सम्पादकियमा भनिएका छ । वाक्यलाई केवल ५+ ७ + ५ को शुत्रमा खण्डीत पारेर सोझो अर्थ लाग्ने गरी छुद्र अभिब्यक्ति दिनु हाइकु विद्याको दुरपयोग हो। यो सम्पादकियले हाइकु कविताका सिकारु लेखकहरुलाई हाइकु सम्बन्धि धेरै जानकारी,गहन अध्ययन गर्नुपर्ने
कुरालाई इङ्गीत गर्दछ । हाइकु लेखनको परम्परा जापानी साहित्यमा १७ शताब्दि मै जापानी हाइकु कविताका आदिकवि मानिने "बासो" द्वारा थालिएको भएपनि नेपालमा भने प्रयोबादी कविता लेखन संगसंगै बि.सं. २०१९ सालमा आएर निबन्धकार शंकर लामिछानेद्वारा भएको देखिन्छ । त्यसपछि अभि सुवेदी,माधवलाल कर्मचार्य,मोहनहिमाशुं थापा आदि हुँदै अघि बढेको नेपाली हाइकु लेखनको परम्परा २०३० पछि तिब्र हुँदै गई २०५० पछि त झनै एउटा सानोतिनो भेल नै चल्न थालेको देखिन्छ भनेर हाइकु सम्वन्धि अध्येता मधुसुदन गिरी लेख्नु हुन्छ ।

१) हाइकुको बाह्य संरचना
        पूर्वीय द्विपदी भन्दा माथिल्लो झण्डै समयापूर्ती शैलीको मुक्तक भन्दा केहि सानो अनुभव हुने हाइकाई वा प्रथमांश ५+ ७ + ५ अक्षरीय होक्कु वा पंक्तियुक्त कविताको अर्थबाहक ताँका अथवा त्यस प्रकारको सामूहिक लेखन क्रमको हास्यात्मक "रेंगा" नामक "वाग्विलास" ले बिस्तार एवम गम्भिरता ग्रहण गरी कालन्तरमा एक स्वतन्त्र कविता मानिन थालिएको जापानी कविताको एक उपविधा हाइकु हो। हाइकु संरचनागत बनौट सम्वन्धमा नाकामुरा कुसाताओ को “हाइकु न्यमोन” लाई आधार मान्दै अघि सारीएका बैशिष्ठ्यगत बुँदाहरु निम्न छन् ।
१.पद्यमयता
२.१७ अक्षरे (५+ ७ + ५)संरचना
३.ऋतुवोधक शब्द
४.प्रतीक
५.यथार्थ चित्रण
६.किरेजी अर्थात बिश्रामवोधक काट्ने अक्षर
       दर्शनका स्तरमा जापानी र अझै पूर्वीय प्रकृति सम्वन्धि जीवन दर्शनलाई प्रस्तुत गर्ने भएकोले हाइकुलाई प्रकृति-काब्य पनि भन्ने गरीएको पाइएको छ । यसैले मौषम सम्वन्धि बिम्व अपरीहार्य ठानीने हाइकुका बिम्वलाई केन्द्रिय बिम्वले केन्द्रकका रुपमा समन्वय गर्ने मान्यता पनि पाइन्छ (नोजु २०४९,५०)
यसका अतिरिक्त सुक्ष्मता,चित्रात्मकता,सौन्दर्यमयता तथा निर्वैयक्तिक अर्थ बोकेको हाइकुमा सौन्दर्यत्पान एवं पुन आस्वादनार्थ काट्ने अक्षर वा चिन्ह एवं अनुप्रासादिद्वारा नादगत,तालगत एव अर्थगत विश्रामको पनि आयोजना गरिएको हुनुपर्ने मान्यता छ । यस सम्वन्धमा हारुहितो नोजु आश्चार्य बोधक प्रश्नचिन्हबाट नेपालीमा किरेजीको काम लिन सकिने मत प्रस्तुत गर्दछन् (नोजु २०४९,५०)। यसका साथै मूल र सहायक क्रियाको प्रयोग नगरेमा हाइकुको चित्रात्मक र लाक्षणिक स्वभाव झन् प्रभावकारी हुन सक्ने मत प्रस्तुत गरीएको छ (सुवेदी २०४४)

२.आन्तरिक संरचना
        हाइकुको आन्तरिक संरचना भाव विन्यासको संरचना पनि हो र वितरणको पनि । यस कोणबाट हाइकुलाई हेर्दा भावगत र शब्दगत संयम हाइकुमा अपेक्षित हुन्छ (भण्डारी र्इ.१९८९,)। प्रथम पंक्तिमा विषय प्रवेश,बाँकी दुइमा त्यसको नाटकीकरण गर्ने प्रवृति पनि अन्तरसंरचना अन्तर्गत नै विषयवस्तुगत वितरणमा पर्दछन् । आन्तरिक संरचना सम्वन्धि मान्यताका अगाडी बाह्य संरचना केहि पनि होइन जस्तो लाग्दछ । किनकि हाइकुलाई जमेका तलाउ नभई जीवित क्षणका स्पन्दनशील अभिब्यक्तिका रुपमा लिइन्छ । यसैले हाइकु लेखनमा शब्दलाई भित्ता सजाउन टाँसीएका प्राणहीन पुतली भनिएको पाइन्छ । हाइकु बौद्धिकता र तार्कीकता होइन सतोरी सम वा अन्तर्वोध अपेक्षित हुन्छ । त्यसैले भनिन्छ ,हाइकु टाउको होइन छातीको बाटो आउने गर्दछ । अति सरल,अति नम्र,अति सामान्य र अति संवेदनशील हृदय हाइकुका खेल्ने चौर हुन्,आगन हुन्। अत वक्ता वा स्रोताद्वारा प्रयुक्त शाब्दिक प्रतीक र वस्तुबीचको खालीपन जस्तै हाइकुका आन्तरिक संरचनामा पनि एक प्रकारको खालीपन हुन्छ ,अनन्त सैभावनाको खालीपन । अत वस्तु र वस्तुलाई हेर्ने दृष्टिका बीचको एउटा मानसिक रुपाकृति हो र हाइकु कवि सत्यको त्यहि अमूर्त रुपाकृतिको प्रत्यक्षानुभूति गर्दछ । यसरी हाइकुमा आन्तरिक संरचनाको खालीपन आँखाले देख्न होइन मनले अनुभव गर्न सकिन्छ ।
      चेतनालाई बुद्धिको सीमादेखि टाढा मनको अति सतही क्रियाकलापद्वारा शान्त र संवेदित तुल्याएर चेतनद्वैततादेखि उच्चतर अद्वैन्दात्मक स्थितिमा अन्तर्बोध प्राप्त गर्ने र प्राप्त गरेर पनि बोधकर्ता अनुपस्थित रहने हाइकुको मर्म र अन्तरसंरचनागत खालीपनबाट निर्मित चित्रात्मकताका सान्निध्यबाट निस्पन्न तेस्रो बस्तुबाट हाइकुको भाव प्रतिपादन हुन्छ (भण्डारी र्इ.१९८९,)। हाइकुहरु जीवत क्षणका स्पन्दशील अभिब्यक्ति हुन्,जमेका तलाउ होइनन् भन्ने मतले पनि हाइकुको अन्तरसंरचनालाई नै इङ्गीत गर्दछ । त्यसैले हाइकुको रुप पूर्वनिश्चित हुन्छ भन्ने भनाई पनि अघि सारिएको पाइन्छ । समग्रमा क्रमहीन सौन्दर्यात्मक वस्तुहरुलाई क्रम मिलाएर प्रस्तुत गर्नु हाइकुको मूल उदेश्य हो (सुवेदी २०४४ )
केहि उदाहरणहरु
पहाडी खोल्सो
सिरुपाते तरेली
तिम्रो सम्झना
     -(क्षेत्रप्रताप अधिकारी)

ताजा सुन्दर
फूल पातमा बसी
कविता हाँस्छ
-      (मञ्जुल)

ढुङ्गाको देवता
यौन क्रिडामा ब्यस्त
पूजा अर्चना
           - (सुनिल पुरी)
      हाइकु थोरै भन्दा थोरै शब्द गरेर तिन हरफमा रचना गरीएको प्रकृतिसंग गहिरो सम्वन्ध राख्ने कविता हो । हाइकुमा समयको लम्वाई नभएर कुनै पलको जीवन्त चित्र हुन्छ । चित्रमा अनन्त सम्भावना हुन्छ । ब्याख्या नगरी सरल संकेतद्वारा भान चेतनालाई कलात्मक ढङ्गले अभिब्यक्ति गर्नु हाइकुको बिशेषता भनेर अर्का हाइकु कविताका अध्येता मनोज न्यौपाने लेख्नु हुन्छ । उदाहरणको लागि हाइकु कविताका आदिकवि मानिने कवि बासो मात्सुको (१६४४-१६९४ इ.)ले लेखेको चर्चित हाइकु यहाँ प्रस्तुत छ ।
फुरुकेइया                     (पुरानो पोखरी)
कावाजु तोविकोमुमु   (फुत्त छयाप्ल्यक्क)
मिभजनुनोओतो        (भ्यागुता)
                  - (अनुवादक - अभि सुवेदी)
      यस हाइकुमा पोखरीको पानीमा भ्यागुता हाम्फाल्दा पानीको शान्ति भङ्ग भएको स्थिति पाठकले आफुभित्र अनुभव गर्दछ । यस हाइकुमा जुन सुक्ष्मता छ सौन्दर्य छ र विशाल भावको स्पन्दन छ । यस हाइकुलाई जापान र अन्य मुलुकमा पनि निक्कै चर्चा परीचर्चा गरेको पाइन्छ । शरुमा जापानमा जन्म भएको हाइकु कविता आज आएर युरोप,अमेरीकामा पनि निक्कै ठुलो लोकप्रिय भईरहेको छ । जापानमा मात्र तीस हजार भन्दा बढी हाइकु कविहरु छन् भन्ने अनुमान गरीन्छ । नेपालमा हाइकु लेखनको प्रारम्भ बि.सं.२०१९ सालमा भएको पाइन्छ । रुपरेखा पूर्णाङक १६ वर्ष अंक ४ (२०१९ भाद्र)मा प्रकाशित शंकर लामिछानेको "सूर्योदय" शिर्षक हाइकु आजसम्म फेला परेको नेपाली भाषामा लेखिएको पहिलो हाइकु हो । उक्त हाइकु निम्न छ ।
माकुरा जाल
झोल्लीएको ओसले
तन्किदै गयो
          शरु शुरुमा जापानी हाइकु कविहरुले पालना गर्ने गरेको ५+ ७ + ५ को अक्षरीय नियम भित्र रचना गरीएको यस हाइकुले निराश शिकारीको प्रतिक्षाको स्पन्दनलाई चित्रण गरेको छ । यहाँ माकुरा जाल आफ्नो अहमताबाट फैलिएको विस्तार हो । आफ्नो अहममा सधै आफ्नो नियन्त्रण हुदैन । त्यसमा प्रकृति शक्ति बलियो हुन्छ । ब्यक्तिले त्यस प्रकृति शक्तिको चापलाई चाहेर पनि नियन्त्रण गर्न सक्तैन । प्रकृति र ब्यक्तिको यस्तै सम्वन्ध यस हाइकुमा प्रस्तुत छ ।
        नेपालमा बीस र तीसको दशकमा धेरै कविहरुले हाइकु लेख्न खोजेको पाइन्छ । त्यस बेला हाइकुको काब्यात्मक धारणा स्पष्ट हुन नसकेर पनि कति तीन हरफे छोटा कवितालाई हाइकु भन्ने वा ठान्ने भ्रम थियो। नेपालमा नेपाली हाइकुको इतिहास चालीसको दशक उल्लेख्य छ । यस दशकमा नेपाली भाषामा हाइकुको काब्यात्मक धारणा प्रकाश पार्ने र जापानी हाइकुलाई नेपालीमा अनुवाद गर्ने क्रम शुरु हुन्छ । बि.सं. २०४४ सालमा डा.अभि सुवेदीको संकलन तथा अनुवादमा साझा प्रकाशनबाट "जापानी हाइकु हिजो र आज" नामक कृति प्रकाशन भएपछि नेपाली कवि तथा पाठकहरुलाई हाइकुको अवधारणा बुझ्ने र जापानी हाइकुको अध्यायन गर्ने मौका प्राप्त भयो। बि.सं. २०५१ सालमा क्षेत्रप्रताप अधिकारी ले संकलन र अनुवाद गर्नु भएको "हिम,जुन,फूल" ले पनि हाइकु प्रेमीहरुका लागि हाइकु बुझ्न थप मौका प्रदान गर्यो । बि.सं. २०५४ सालमा जीवन सुवेदी  को "सुनगाभा" नामक कृति हाइकु संग्रह भनेर प्रकाशित भएको पाइन्छ । त्यसपछि भने धेरै हाइकु नेपाली कविहरुले हालसम्म हाइकु संग्रह प्रकाशन गर्दै आएको पाइन्छ । हामी कहाँ कतिपय कविहरुले हाइकुको काब्यात्मक धारणा नबुझी आफ्ना लघु कवितालाई हाइकुको नाममा प्रकाशीत गर्ने गरेको पाइन्छ । ५+ ७ + ५ अक्षरीय नियम पालना नगरे पनि हुन्छ । यहाँ ५+ ७ + ५ अक्षरीय नियम पालना गर्नुलाई हाइकु लेखनको पहिलो र अन्तिम शर्त मान्ने कविहरु धेरै छन्। तर हाइकुको काब्यात्मक धारणा अनुरुप गहिरो प्रकृति बिम्व वा स्पन्दन हुन जरुरी छ । जसमा थोरै भन्दा थोरै शब्दमा रहेर तिन हरफमा हाइकु लेख्न सकिन्छ । ५+ ७ + ५ अक्षरीय नियम पालना गरेर हाइकुको काब्यात्मक धारणा अनुरुप लेख्न सकियो भने अझ उत्तम हुन्छ । ५+ ७ + ५ अक्षरीय नियम पालना नगरी लेखिएका हाइकुहरु निम्न छन्।
बगैचामा पुरानो पोखरी
लेउ ओढेर वाहिर आउँछ
दारीवाल राणाको मूर्ती
        -(डा.अभि सुवेदी )
छयाम्ल्याङग डुब्छन्
हाइकु सागरमा
टंक सुब्बाजी
        - (डा.मधु माधुर्य)
तिम्रो अनुहार
चन्द्रमा जस्तो चम्किलो
तर अरुलाई आगो झैं पोल्ने
     -(रामदयाल राकेश)
जेन सौन्दर्य चेतनाको स्मरण गराउँने दुइ हाइकु हेरौ।
भँगेरो समाए
ढुकढुक खप्न नसकेर
छोडी दिए
           -(मधुपर्क २०४५साउन)
     यस हाइकुमा भँगेरोको सानो मुटुको ढुकढुकबाट जीवनको स्पन्दन शक्तिलाई साह्रै राम्रो गरी नापीएको छ ।
हिलो तानीरहेको गौथली
सास बढेको
हाम्रो जत्रै
            - (मधुपर्क २०४५साउन डा.अभि सुवेदी)
       यस हाइकुमा गौथलीको सानो परिश्रममा सास बढेको प्रकृति र हामीलाई एक ठाउँमा आवद्ध गर्ने जैविक स्पन्दनलाई सूक्ष्म ढङ्गबाट ब्यक्त गरिएको छ । हाइकु लेख्दा कतिपय ठाउँमा वा अवस्थामा ब्यक्ति अथवा ब्यक्तिको नाम किटान भएर आउँछ । त्यस बेला हाइकु नभनिएर "शेन्यू' भन्ने गरीएको कुरा अमूर्तबोधी दर्शनका प्रवर्तक खगेन्द्र पन्दाक लिम्बु र साहित्यकार आचार्य प्रभा वताउँनु हुन्छ । यस बिषयमा बुझ्नको लागि अन्य खोज तथा अनुसन्धान गर्नु पर्ने हुन्छ । जस्तै
छयाम्ल्याङग डुब्छन्
हाइकु सागरमा
टंक सुब्बाजी
            -(डा.मधु माधुर्य)
अन्त्यमा
         माथी आएका हाइकु सम्वन्धि काब्यात्मक अवधारणाले हाइकु लेख्न र बुझ्नको लागि अवश्य पनि सहयोग पुर्याउँने छ भन्ने कुरामा आशावादी छु । वृहतरुपमा हाइकुको काब्यात्मक धारणा बुझ्न वा जान्नको लागि अन्य हाइकु सम्वन्धि पुस्तकहरु अध्यायन जरुरी देख्दछु ।विना अध्यायन हाइकु लेख्दा लघु कविता मात्र बन्न के बेर ? त्यसैले यदि कसैलाई हाइकुमा विशेष चासो छ भने उसले अध्ययनको बाटो नरोजी हुन्न । धेरै हाइकु लेख्ने कविहरुले हाइकु लेखि रहेका हुँदैनन्। खाली ५+ ७ + ५ अक्षरीय नियम पालना गर्नुलाई पहिलो तथा अन्तिम सर्त मानी रहेका हुन्छन् । त्यसरी हाइकु लेख्दा हाइकुको काब्यात्मक धारणा छोडीन्छ र हाइकु बन्दैन । ५+ ७ + ५ अक्षरीय संरचना भन्दा काब्यात्मक धारणा आउँनु सबै भन्दा महत्वपूर्ण विषय हो।

सभार : साहित्य घर

केस्रा रचनामा रसको अभिव्यञ्जना

दस्तावेज:- दीपक सुबेदी

 
समीक्षक:- दीपक सुबेदी
गौरदह,झापा 

 यथार्थ जीवनमा कुनै एक अवस्थामा हुने एक अनुभूति तथा एक दृष्टिकोणको अभिव्यक्ति अथवा कुनै पनि पूर्ण विषयवस्तुमा हुने कुनै एक खण्ड वा कुनै एक अंशलाई मात्र सूक्ष्म पहिचान गरि सोहि पक्षमा मानवीय संवेदना तथा संवेगबाट साहित्यमा उत्पन्न हुने भाव वा रसको एक पक्षको अभिव्यञ्जना नै केस्रा हो । नेपाली साहित्यमा मौलश्री लिम्बूले मलेसियाबाट यसको घोषण गरेका हुन्  ।
वर्तमान नेपालाको राजनीतिक अवस्थाले ठुलो फड्को मार्ने कोसिस गर्दैछ । केन्द्रित शासन प्रणालीले आफुलाई छिटो, चुस्त बनाउन नसक्ने भएर नै गणतन्त्र तर्फ उन्मुख भईरहेकोछ । निश्चित सीमा–क्षेत्र भित्र रहेर यहाँका जनताहरुको साना–तिना समस्यालाई पनि छिटो अनि प्रभावपूर्ण ढंगले समाधान गर्नका साथै प्राकृतिक स्रोत साधनहरुको सहि परिचालन गर्ने कोशिसमा लागिपर्न चाहेका छन् । यसो हुनु भनेको एउटा ठुलो परिमाणको वस्तु, क्षेत्र वा कार्यको विभाजन हुनु हो । त्यसवाट विभाजन भएको सानो परिमाणलाई पनि ठुलो परिमाण अन्तर्गत राखेर प्रभावकारी पहिचान बनाउन खोजिएको हो । यसरी नै कुनै पनि वस्तु तथा क्षेत्रको ठुलो परिमाणलाई खण्डीकृत गरि छुट्याइएको  प्रत्येक खण्ड खण्डहरु मध्ये कुनै एक खण्डले पनि उही ठुलो परिमाणमा हुने  प्रत्याभूति दिलाउन सक्दछ । ती ठुला परिमाणका वस्तु तथा विषयलाई यसरी खण्ड वा अंशमा विभाजन गरेर एक खण्ड वा अंशलाई मात्र व्याख्या वा स–विस्तार गरी समेटिएको साहित्य नै केस्रा हो ।
यसमा कुनै पनि विषयवस्तुको कुनै एक पक्षको उल्लेख  महत्वपूर्ण रहेको हुन्छ । कुनैपनि विषयवस्तु तथा अनुभव वा अनुभूतिमा हुने मानवीय संवेदना तथा संवेगको एक पक्षलाई विशेष महत्वका साथ अभिव्यक्त गरिएको हुनु पर्दछ । गतिशील समयव्रmमको परिर्वतनहरुले साहित्यमा पनि प्रमुख भूमिका खेल्ने गर्छन् । यसर्थ साहित्यका प्रचलित अन्य विधाहरु भएता पनि समय सान्दर्भिक केस्राको आफ्नै विशेषता, संरचना तथा मान्यता आदिले गर्दा अन्य विधासंग अतुलनीय रहेकोछ । यिनै आधारशिलाबाट केस्रा विधाको प्रतिपादन भए पाईन्छ ।
उठानको दुवै हरफ, विश्रामको दोस्रो हरफ र बैठानको दुवै हरफको अन्तिममा अनुप्रासको प्रयोगमा लेखिएको हुन्छ आकृति केस्रामा । यो केस्रा विधाले मान्यता दिएका तथा निर्माण गरिएका कुनै पनि छन्दको प्रयोग विना स्वच्छन्द लयमा लेखिनेछ । अनुप्रासको अघिल्तिर वा मध्य भागमा राखेर प्रत्येक हरफमा वा विश्रामको पहिलो हरफमा बाहेक अन्य पाँच हरफमा कुनै शब्दलाई दोहोर्याएर लेखिको हुन्छ आवृति केस्रामा । यसलाई एउटा शब्द र अनुप्रासको मात्रा प्रयोग गरेर पनि लेख्न सकिनेछ । या केस्रा विधाले मान्यता दिएका तथा निर्माण गरिएका कुनै पनि छन्दको प्रयोग विना स्वछन्द लयमा लेखिन्छ । वैज्ञानिक ढंगले ध्वनि विज्ञानको मान्यतामा रहेर छन्दको संरचना निर्माण गरि अलङ्कार केस्रा लेखिन्छ । केस्रा विधाले मान्यता दिएका तथा निर्माण गरिएका कुनै पनि छन्दको अनिर्वाय प्रयोगमा आकृति केस्रा र आवृति केस्राको संरचनामा लेखिने केस्रा नै अलङ्कार केस्रा हो ।

छ हरफमा लेखिए पनि प्रत्येक दुई–दुई हरफ अलग–अलग रहनेछन्
केस्रा दस्तावेज 
तर यी सबै हरफ एउटा विषयवस्तुमा अन्योन्याश्रित हुन जरुरी छ । यो संरचना बाहेक छ हरफमा केस्रा कै मान्यतामा रहेर स्वरुपलाई फेरबदल गरिएमा त्यसलाई ढाँचा केस्रा भनिन्छ । केस्रा निस्चित प्रविधको संयोजनमा लेखिन्छ । यसमा पहिलो र दोस्रो हरफ उठान तेस्रो र चौथो हरफ विश्राम पाँचौ र छैठौ हरफ बैठान हो । उठानले विषयवस्तुको प्रवेश वा उठान गर्छ । विश्रामले उत्कर्ष वा जिज्ञासाको खुलासा गर्छ र बैठानले विषयवस्तुको निराकरण गर्दछ । यसमा अनुप्रास अनिवार्य तत्व हो । एउटा केस्रामा उठानको पहिलो अनुप्रास वैठानको पहिलो हरफमा अनिवार्य दोहो¥याउनु पर्दछ । अन्य कुनै पनि अनुप्रास पुनः दोहो¥याईएमा मान्य हुने छैन । कुनै पनि विषयवस्तुलाई सम्वोधन गर्नको लागि नाम हुन आवश्यक पर्दछ । केस्रामा शीर्षक अनिवार्य हुनु पर्दछ । शीर्षक विनाको केस्रा हुन सक्दैन । शीर्षक छनौट गर्दा विषयवस्तुलाई प्रतिनिधित्व गर्न सक्ने वैचारिक, सांकेतिक र  छोटो हुनु पर्दछ । आकृति केस्रा र आवृति केस्रामा स्वःलय तथा स्वच्छन्द हुने भएकाले जति पनि अक्षर तथा मात्राको केस्रामा अल्प÷अर्धविश्रामको अनिवार्यता छैन । अलङ्कार केस्रामा छन्दको निर्माण प्र्रक्रिया लागु हुनेछ ।
लेखन शैली, विषयको प्रस्तुति, रचनात्मक, वैचारिक र संरचना पक्ष शब्दको संगठनात्मक ढाँचा आदिमा समष्टिमा शिल्प केन्द्रित हुने गर्दछ । केस्रामा कथ्य  आंशिक लय भएता पनि वैचारिकतामा एक पक्ष वा विषयवस्तुको कुनै एक खण्ड वा अंशको स–विस्तार भएको गुणहरुको प्रभावसंगै विषवस्तुको अंशा यसको प्रमुख तत्व वा शिल्प हो । केस्रामा लय अनिवार्य तत्व होइन । यद्धपि अनुप्रासको प्रयोग हुने भएकोले लयमा आबद्ध हुनु जरुरी छ । कुनै पनि विषयवस्तुको एक खण्ड वा एक पक्षलाई विश्लेषण गरि सिलसिलेवार प्रस्तुति हुनु पर्दछ । केस्रामा कुनैपनि विषवस्तु वर्जित छैन । यद्धपि उक्त विषयवस्तुको एक खण्ड वा एक पक्षलाई कति ध्यान दिईएको छ यो नै प्रमुख महत्वको रmपमा हरेको हुन्छ । साहित्य र समाज परस्पर विषय हुन । यसर्थ केस्रामा प्रयोग हुने शब्द तथा भाषा अनुशासित  हुनु पर्दछ । यसमा कुनै पनि क्लिष्ट वा सरल शब्द समावेश गर्न सकिन्छ ।
        यसमा अनिवार्य छ हरफ हुनुपर्छ । तिनीहरु दुई–दुई हरफको एक संयोजनमा रहनेछन् । यसका हरफ समायोजन र नामकरणमा पहिलो समायोजन उठान:– उठाउने काम, शुरु गर्ने काम, थालनी, आरम्भ, प्ररम्भ, सुरुवात हुन्छ । दोस्रो समायोजन विश्राम:–बसाई, अडान, काम÷परिश्रम आदि गर्दा थकाई मेटाउन आराम गर्ने हुन्छ । तेस्रो समायोजन बैठान:– कुनै कामको अन्त्य, टुङ्गो÷रहने ठाँउ,  ठेगान रहेको हुन्छ ।

         आजकाल हरेक विषय वा क्षेत्रमा छिटो र प्रभावकारी पक्षलाई विशेष महत्व दिने गरिन्छ । एउटा निर्धारित वा समय सीमामा काम गर्ने मजदुर तथा श्रमिकहरुले पनि अतिरिक्त थोरै काम सिध्याई बढी पारिश्रमिक पाउने अपेक्षामा काम गर्न लालयित हुन्छन्  । प्रविधिहरुमा पनि धेरै नै छिटो, छरितो र टिकाउलाई अपनाउन थालिएको छ । हरेक क्षेत्र वा वस्तुहरुमा हुने विशेषतालाई पहिचान गरि समयानुकुल परिमार्जन गरेर अझ प्रभावकारी बनाईदैछ । यसरी समयानुकुल परिवर्तन हुँदा उक्त क्षेत्र तथा वस्तुमा एउटा नयाँ संरचना÷ढाँचाको आधार नै तयार भएको हुन्छ । यस्तो संरचना पुरानो स्वरुपसँग केही मिल्दोजुल्दो देखिएतापनि त्यसमा लागू हुने मान्यता, विशेषता, उपयोगिता, आदिमा भिन्नता हुने गर्दछ । जसले गर्दा सोहि नामले सम्वोधन गर्न असान्दर्भिक हुने गर्दछ  र छुट्टै नामले स्थापित हुने गर्दछ ।

         यसरी छुटै अस्तित्व बोकेर, छुट्टै नामले स्थापित हुन अन्य विधा जस्तै नेपाली साहित्यमा केस्राको उपस्थिति भएको देखिन्छ  । यसमा दिलिप सगर राई र जीवन देवान गाउँले (मलेसिया) साथै कृष मगर(यु.ए.ई.)ले यसको लेखनमा लागिरहेका छन्
                           
 [दृष्टान्त:-  प्रयुक्त समिक्षा "नागरिक दैनिक" पत्रिका वर्ष ४ अंक २६२  शुक्रबार ,५ माघ २०६९ मा प्रकाशित भई सकेको छ ।]   

गजल : जरुरत थियो

थियो जब मलाई घरको जरुरत थियो ।
तर मसंग मात्र आकाशको छत थियो ।

आयौ भविष्य देखायौ, गयौ विगत बन्यो,
पैले न त भविष्य थियो न विगत थियो ।

राखेको थिएँ बचाएर, मुटु चुडेर लग्यौ,
अरु त सारा पहिले नै जफत थियो ।

न त ऐले घटेको छ, न घट्नेछ पछि,
पैले पनि तिम्रो माया शत प्रतिशत थियो ।

संसार उजाडीयो मेरो, साथी बन्यो सराव,
भन त ! कहिल्यै मेरो यो आदत थियो ?


© डि.बी. 'रास्कल' उपेन्द्र
- बर्दियाली साहित्य मञ्च

गजल : फुलाएको छ ।

फेरी समयले बगैँचामा फूल फुलाएको छ ।
अनी मलाई बालक बाट बृद्द बनाएको छ ।

यो कस्तो परिक्षा लिई रहेछ प्रकृतिले,
छोरो डराएर बाबुको हात समाएको छ ।

आखिर किन उसैमाथी बज्रपात आई पर्छ,
जसले पाउनु भन्दा कैयौँ बढी गुमाएको छ ।

यो याद भन्ने चिजमा के छ कुन्नी त्यस्तो,
उसलाई सम्झँदैमा पनी मन रमाएको छ ।

© सौगात श्रेष्ठ
- बबई नगरपालिका, बर्दिया

विचारशिल गजलहरुको एउटा उत्कृष्ठ संग्रह


श्रेष्ठ समनश्रीबाट सम्पादित तथा बर्दियाली साहित्य मञ्चबाट प्रकाशित बर्दियाली प्रतिनिधि गजल संयुक्त गजल संग्रह सार्वजनिक भएको छ । संग्रहमा बर्दियाका ५ जना नारी सहित १६ जना गजलस्रष्टाहरुको ४८ वटा उत्कृष्ट गजलहरु ८४ पृष्ठमा संग्रहित छन् । 



गजललाई युवाहरुको प्रेमालाप र सायरीको रुपमा यत्रतत्र बखान भईरहेको बेला आएको “बर्दियाली प्रतिनिधि गजल” ले नेपाली गजलमा विचारको सागर पनि छ है भन्ने सन्देश दिन खोजेको छ । हिजोआज सबैको प्रिय र सजिलो विधा बनेको गजलको फाँटमा लेख्नेहरु हजारौं हजार भएका छन् प्रत्येक विद्यालय विद्यालयमा, कलेज कलेजमा, प्रत्येक टोल टोलमा, प्रत्येक जिल्ला जिल्लामा । यो भिडबाट चालेर, छानेर उत्कृष्टलाई पुस्तकको आकार दिनु पक्कै पनि चुनौतिपूर्ण छ । यसै चुनौतिलाई सामना गर्दै बर्दियाका विचारशिल र भावगम्य गजलहरुको यो मालामा सम्पादक/प्रकाशकले बर्दियाली प्रतिनिधि गजलकारहरु प्रकाश राजापुरी, मधु साश्रु, अनुपमा करारा, दीपक जलन, निर्जल आकाश, श्रेष्ठ समनश्री, अन्जान स्नेहा, गोल्डेन उद्भाष, अमृत निर्जन, अन्जु स्मारिका, लक्ष्मी अभि, सुमित स्मित, डम्मर बि.सि., पर्वत ढकाल, देवी दिक्षा, र मानिस लाई सुन्दर तरिकाले उनेका छन् । खगेन्द्र गिरि कोपिलाको बर्दियाली गजल र गजलकारिताको बारेमा लेखिएको १२ पृष्ठ लामो आलेख र साथै ज्ञानुवाकर पौडेल, बाबु त्रिपाठी र अशोक बोहोरा असिमपिडाको शुभकामना पनि छ ।
बर्दियाली गजलहरुमा देशभक्ति, मानवीय संवेदना, राजनैतिक चेतना, जीवन भोगाइका अनुभूति, समसामयिकता, सामाजिकता, शृङ्गारिकताका भाव व्यक्त भएका पाईन्छ र साथसाथै सराबका कुरा पनि । पुस्तक पढ्दै जाँदा यस्तो लाग्छ, जति जति गजल पढ्दै गयो उति उति मिठास र रस बसेर आउँछ । समेटिएका कुनै गजल त्यस्ता छैनन् जसमा विचार नहोस्, केहि शेरहरु हेरौं :

म पन्छी हुँ अँध्यारोमा मेरो गुँड जलाई,
बगैचामा प्रकाशको पहिचान गरिदिउँला ।।
प्रकाश राजापुरी (पृ.२)

किन उचनिच छन् मान्छेका सोचाइहरु ?
हैन भने जमिन पनि समथर हुनुपथ्र्यो ।।
श्रेष्ठ समनश्री (पृ.२२)

जलाईदिएँ घरको छानो उज्यालो आउने छ ।
केहि छिनलाई यो सन्नाटा पनि हराउने छ ।।
अन्जान स्नेहा (पृ.२६)

एउटै रुखमा चराहरु गुँडहरु बनाउँछन् ।
हेर, तैपनि उनीहरु कसरी रमाउँछन् ।।
मानिस (पृ.६३)

निकै कम मात्र रहेका शृंगारिक धारका केहि शेरहरु :

म दिन्थेँ तिमीलाई मेरो मुटु झिकी,
मुटु पनि दिएरै बाँच्न सक्ने भए ।।
लक्ष्मी अभि (पृ.४२)

जिताई उनैको दिई घात पीडा,
र तर्वार मैले उठाएर हारेँ ।।
श्रेष्ठ समनश्री (पृ.२३)

त्यो कि सम्झनेलाई थाहा छ कि सम्झनामा आउनेलाई थाहा छ,
उसैलाई सम्झेर मैले कति रात सिरानी रुझाएको छु ।।
अमृत ढकाल निर्जन (पृ.३६)

कथा भयो मिठो अतित, व्यथा भयो उनको प्रीत
उनको सम्झनाले दिल जलेपछि कति पिएँ कति ।।
मधु साश्रु (पृ.८)

विचार र भावले भरिएका पुष्ट र उत्कृष्ट गजलहरु समेटिएको यस संग्रह गजलमा रुचि भएकाहरुले जो कोहिले र बर्दियाली गजलकारिता नियाल्न चाहनेले पढ्नै पर्ने एउटा पुस्तक हो । केहि प्राविधिक त्रुटिहरु देखिएपनि आकर्षक आवरण, पेपर क्वालिटि निकै राम्रो छ । समग्रमा, बर्दियाली गजल र गजलकारिता उजागर गर्ने यो संग्रह मोफसलबाट निस्किएको एउटा उत्कृष्ट पुस्तक हो र बाबु त्रिपाठीले भने जस्तै “आधुनिक नेपाली गजलको परिकल्पना गर्दा बर्दियालाई छोडेर परिकल्पना गर्ने हो भने त्यो अधुरो हुन जान्छ....बर्दियाका गजलहरु तीखो सियो हुन्, जसले घोच्दैन यदि घोच्यो भने पछिसम्म दुखिरहन्छ” ।

कृति : बर्दियाली प्रतिनिधि गजल (गजल संग्रह)
प्रकाशक : बर्दियाली साहित्य मञ्च, बर्दिया
पृष्ठ  : ६४+२०
संस्करण: पहिलो, कार्तिक २०६९
मूल्य : रु.१५० व्यक्तिगत / रु.२५० संस्थागत
ISBN  : 978-9937-2-4493-0