- डा. घनश्याम ‘परिश्रमी’~
आफ्नो फुपू एउटा धार्मिक सम्प्रदायसँग
आबद्ध भएकीले समिधामा पनि बाल्यकालदेखि नै त्यसको प्रभाव परेको थियो ।
जगत्लाई मिथ्या र जीवनलाई क्षणभङ्गुर ठान्ने
समिधा सांसारिक मोहको जञ्जालमा फस्न चाहन्नथिन् । त्यसैले उनले आजीवन
अविवाहित रहने निर्णयगरेकी थिइन् । उनको जीवनमा पनि प्रकृतिको नियमअनुसार
स्वाभाविक रूपले कैशोर्यपछि यौवनले प्रवेश गरेको थियो । सात्त्विक भोजन र
आध्यात्मिक चिन्तन आदिले उनले यौवनोचित आवेगलाई नियन्त्रणमा राखेकी थिइन् ।
समिधा परमेश्वरकी परमभक्त थिइन् । मोक्षका निम्ति रतिलाई दबाउँदै उनी
हरघडी इश्वरीय उपासना र ध्यानमा तन्मयतापूर्वक लागेकी हुन्थिन् ।
एकदिन राति समिधाको जीवनमा अनपेक्षित घटना
घटित भयो । “तिमीले मलाई साह्रै प्रेम गर्यौ† तर मैले तिमीलाई प्रेम गर्न
सकिनँ । त्यसैले प्रिय, म आज तिमीलाई हार्दिक प्रेम गर्न आएको छु” भन्दै
परमेश्वर अचानक उनीसामु उपस्थित भए । सुरुमा त भगवान्को दर्शन पाएँ भनेर
समिधा अत्यन्त प्रसन्न भइन् । तर जब परमेश्वरले उनका संवेदनशील अङ्गहरू
सुम्सुम्याउँदै चुम्बन गर्न लागे उनलाई असहज आश्चर्य बोध भयो । तर क्रमशः
उनले आनन्दातिरेकको अनुभूति गर्न थालिन् । सम्भवतः इश्वरीय उपासनाका क्रममा
यस्तो आनन्द उनले कहिल्यै प्राप्त गरेकी थिइनन् । त्यो स्वप्नसम्भोगको
आनन्दपछि उनको मानसिकता नै बदलिएको छ । अहिले उनलाई त्यस्तै आनन्द यथार्थमा
पनि प्राप्त गर्ने अव्यक्त चाहनाले कुत्कुत्याइरहेको छ ।
– भैरहवा बहुमुखी क्याम्पस, भैरहवा ।
पल्लव साहित्यिक पत्रिका–१२, औँ अङ्कबाट साभार गरिएको हो ।
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान)







0 comments:
Post a Comment